Sorry, your browser does not support JavaScript! ह्याप्पी ‘भलिबल डे’ - Merodesh.news

ह्याप्पी ‘भलिबल डे’

विराटनगर, ८ जेठ । आज ८ जेठ अर्थात् नेपाली ‘भलिबल डे’ । भलिबललाई राष्ट्रिय खेल घोषणा गरिएको आज तीन वर्ष पूरा भएको छ । भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि नेपालको राष्ट्रिय खेल कबड्डी र डन्डीवियोलाई मानिँदै आएको थियो ।

राष्ट्रिय खेलका लागि विभिन्न खेलले आ–आफ्नो दाबी प्रस्तुत गरेपनि कम लगानी र भौगोलिक बनोट सुहाउँदो भन्दै तत्कालीन युवा खेलकुद मन्त्री दलजित विके श्रीपाइली र प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को सरकारले भलिबललाई २०७४ जेठ ८ गते राष्ट्रिय खेल घोषणा गरेको थियो ।

sdaf

घोषणा गरिएको मिति अर्थात ८ जेठलाई नेपाल भलिबल संघ (एनभिए) ले विभिन्न कार्यक्रम आयोजना गर्दै ‘भलिबल डे’ को रूपमा मनाउन सुरु गरेको थियो । यस वर्ष भने भलिबल डेमा विशेष कार्यक्रम आयोजना नगरिने भएको छ । कोरोना महामारीका नियन्त्रण एवम् रोकथामका लागि गरिएको लकडाउनको कारण कुनै पनि औपचारीक कार्यक्रम आयोजना नगरिने एनभिएले जनाएको छ ।

राष्ट्रिय खेल भएको छोटो समयमा नै नेपाली भलिबलले अन्तर्राष्ट्रिय पदक जित्न सफल भएको छ । पदक जित्ने विषयमा नेपाली महिला राष्ट्रिय टोली पुरुष टोलीभन्दा अघि छ ।

भलिबललाई राष्ट्रिय खेल घोषणा गर्नुअघि २०१७ मा माल्दिभ्समा आयोजित सेन्ट्रल जोनमा ऐतिहासिक कास्यपदक जित्न नेपाल पुरुष राष्ट्रिय टोली सफल भएको थियो । नेपाली पुरुष भलिबल टोलीको लागि अहिलेसम्मको सबैभन्दा ठूलो सफलता यहीँ नै हो ।

भलिबल राष्ट्रिय खेल घोषणा भइसकेपछि भने पुरुष राष्ट्रिय टोलीले चार अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको छ । दुई सेन्ट्रल जोन, एसियन गेम्स र साग गरी पुरुष राष्ट्रिय टोलीले चार प्रतियोगितामा सहभागीता जनाए पनि हालसम्म कुनै पनि पदक जित्न सकेको भने छैन ।

तर, महिला राष्ट्रिय टोलीको कथा भने अलि फरक छ ।

वर्ष २०७३ मा नेपाली महिला टोलीले माल्दिभ्समा सम्पन्न विश्व च्याम्पियनसिपअन्तर्गत एसियाली सेन्ट्रल जोनको छनोट खेलेको थियो । सहभागी भए पनि नेपालले छनोट चरणसमेत पार गर्न सकेन । यद्यपि, खेलाडीको प्रदर्शनलाई आधारमा मान्ने हो भने नेपाली महिला टोलीको लागि भने त्यो ठूलो सफलता थियो ।

गएको वर्ष अर्थात वर्ष २०७६ नेपाली खेलकुद क्षेत्र भलिबलमय बन्यो । नेपाली महिला राष्ट्रिय टोलीले भाग लिएका दुवै प्रतियोगितामा नेपाली टोली नेपाललाई पदक दिलाउन सफल रह्यो ।

कात्तिकमा बंगलादेशमा सम्पन्न पहिलो संस्करणको एसियन सिनियर महिला सेन्ट्रल जोन भलिबल प्रतियोगिताको उपाधि नेपालले आफ्नो पोल्टामा पारेका थियो । फाइनलमा म्लादिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै नेपाली महिला टोलीले नेपाली भलिबलमा इतिहास रच्यो ।

प्रतियोगिताभरी खेलिएका सबै खेलमा अपराजित रहँदै नेपाली राष्ट्रिय महिला टोलीले स्वर्णपदक जितेको थियो । ऐतिहासिक उपलब्धि हासिल गरेको महिना दिनभित्रै नेपाली भूमिमा आयोजित १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) मा नेपाल सहभागी भयो ।

त्यसअघिका सागमा तीन पटक कास्य पदकमा चित्त बुझाएको नेपालले ३५ वर्षे सागको इतिहासमा पहिलो पटक रजत पदक जित्न सफल भएको थियो । निकै बलियो मानिएको भारतलाई नेपालले फाइनल खेलमा कडा चुनौती दिएको थियो ।

नेपाली महिला भलिबलको इतिहासमा नेपाली राष्ट्रिय टोलीले भारतलाई कुनै पनि सेटमा हराएको त्यो पहिलो खेल थियो । फाइनल खेलमा प्रतियोगिताकै बिलिया प्रतिद्वन्द्वी भारतसँग ३–२ ले हारे पनि नेपाली महिला राष्ट्रिय टोलीले नेपाली महिला भलिबलको स्तर र सम्भावना अन्तर्राष्ट्रिय स्तरमा छर्लङ्ग पारिदिएको थियो ।

नेपाली माटो सुहाउँदो खेल भनिने भलिबलले राष्ट्रिय खेल घोषणा भएयता विश्व वरीयतामा पनि छलाङ मार्न सफल भएको छ । विश्व वरीयतामा पनि नेपाली महिला टोली पुरुष टोलीभन्दा निकै माथि छ ।

यसअघि १२१औं स्थानमा रहेको नेपाली महिला टोली ३५ स्थान सुधार गर्दै हाल ८६औं स्थानमा छ । विश्व वरियातमा पुरुष टोलीको स्थान हेर्ने हो भने, पुरुष टोली १३८औं स्थानमा यथावत रहेको छ ।

नेपालको जुनसुकै स्थानमा पनि खेल सकिने भलिबल खेलले राष्ट्रिय खेलको मान्यता पाएसँगै देशभर नै भलिबल प्रतियोगिताको आयोजनमा वृद्धि भएको छ । यसले नयाँ युवा खेलाडीलाई आफ्नो खेल कौशल प्रदर्शन गर्न त सहयोग गर्छ नै सँगै नेपाली भलिबलको समग्र विकासमा पनि मद्दत पु¥याउँछ ।

तर, प्रतियोगिता आयोजनाकै भर मात्रै पर्ने हो भने नेपाली भलिबलको स्तर वृद्धि र विकास असम्भव छ । राष्ट्रिय खेल घोषणा गरिदिए पुग्ने र यसमा आवश्यक लगानी गर्न हिच्किचाउने हो भने भलिबलको प्रगति शुन्य हुने निश्चित छ ।

तसर्थ यसका लागि खेलाडी, संघ, राष्ट्रिय खेलकुुद परिषद, सरकार र निजी क्षेत्रले पनि हातेमालो गर्दै अघि बढ्न एकदमै आवश्यक छ । वर्ष २०७६ भरि भलिबलको सफलताले नेपाल जसरी भलिबलमय भयो आउँदो वर्षहरूमा पनि भलिबलको सफलताले अझैं उडान भरोस् सम्पूर्ण नेपालीहरुमा ‘भलिबल डे’ को शुभकामना ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’
दुवै खुट्टा गुमाएका हिमाल भन्दैछन् – ‘जय कोरोना !’

उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्‍याएको छ । शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन[...]

ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित
ब्राजिलमा एकैदिन थपिए २० हजार कोरोना संक्रमित

एजेन्सी, ८ जेठ । ब्राजिलमा एकै दिन कोरोना भाइरसका करिब २० हजार संक्रमित थपिएका छन् । बुधबार एकै दिन १९ हजार ९ सय ५१ जनामा संक्रमण पुष्टि भएको ब्राजिलकाे स्वास्थ्य[...]

कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल
कोरोना भाइरस तत्काल नियन्त्रणमा आउँदैन्, हिजोको जस्ताे दैनिकी परिवर्तन गुर्नपर्छ : डाक्टर रोशन पोखरेल

नेपालमा ५९ जनालाई कोरोना संक्रमण देखिएको छ । सम्भावित महामारी नियन्त्रणका लागि सरकारले निरन्तर प्रयास गरिरहेको छ । कोरोना परीक्षका लागि दायरा बढाइएको छ । विश्वभर फैलिएको कोरोनाको सम्भावित जोखिम[...]