उदयपुर ( चौदण्डीगढी) ८ जेठ । चौदण्डी गढी नगरपालिका वडा नं ५ का हिमाल मगरलाई यो कोरोनाको महामारीले फाइदा पुर्याएको छ ।
शारीरिक रूपमा अशक्त मगरलाई अरुबेला कसैले वास्ता गर्दैन थे । तर लकडाउनमा चाहिँ उनलाई सबैभन्दा बढी प्रभाव पारेको व्यक्तिको रूपमा पहिचान गरी राहत दिनेहरू बढन थालेका छन् ।
वडा कार्यालय र टेवरनेकल मिनिष्ट्रिज नेपाललबाट राहत पाएपछि उनले भने, ‘अरुबेला केही पाइँदैनथ्यो तर लकडाउनमा धमाधम राहत पाइन थालेको छ ।’

तीन वर्ष अघिसम्म सारसौंदो अवस्थामा रहेका हिमालले यसबीचमा कल्पनै नगरेको परिस्थिति भोग्नुपर्यो । स्थानीय सिबाई स्कूलमा निर्माण मजदुरको रूपमाकाम गर्ने क्रममा सिमेन्टले खाएर उनको दाहिने खुट्टा काट्नुपर्यो । केही समयपछि अर्कोले पनि शरीर थेग्न छोड्यो ।
बैशाखीको सहारामा काटिएको खुट्टा टेकेर वरपर हिँडडुल गर्ने हिमालको जीवनमा फेरि अर्को बज्रपात आइपर्यो । उनको सुख–दुःखको सहयात्री, जीवन संगिनीलाई पनि निष्ठुरी मृत्युले चुँडेर लग्यो ।
२०७६ सालको दशैंकै बेला उनले जीवनको बलियो सहारा गुमाए । “रोग त खासै केही थिएन, जण्डिसको बिरामी हो, तर पनि राम्रो उपचार हुन नसक्दाउनलाई बचाउन सकिनँ” मुटु गाँठो पार्दै हिमालले श्रीमतीको मृत्युको कारण बेलिविस्तार लगाए । भने–“अरु त त्यस्तै हो सर, सानो छोरो एक वर्षको पनि भएको थिएन, दूध–कटुवा भयो ।”
बाल्यकालदेखि नै सुखको अनुभव गर्न नपाएका हिमालले राम्रो शिक्षा प्राप्त गर्न सकेनन् । अरुको घरमा काम गरेर पढ्नका लागि समय निकाल्न सहज थिएन । त्यसमाथि उनले राम्रो संगत पाएनन् । किशोर अवस्थामै उनी संगतको कारण कुलतमा फसे–ज्याला मजदुरी गर्न भारत हान्निए ।
भारतमा रहँदा उनले कोइला काटे । निर्माण मजदूरको रूपमा काम गरे । त्यसपछि नेपाल फर्किएका उनले बिहेवारी गरेर घर बसाउन चाहेका थिए । तर गरिबले सपना देख्न त सक्छ तर पूरा गर्न सक्दैन भनेझैं उनका सपनाहरू क्रमशः हावाले उडाउँदै लगे ।

सामान्य इन्फेक्सनको राम्रो उपचार नहुँदा उनको दाहिने खुट्टा काट्नुर्यो । त्यसपछि एउटा खुट्टलाई मात्रै साइकल कुदाउने, हिँडडुल गर्नुपर्ने दबाब पर्यो । केही समयपछि अर्को खुट्टाले पनि राम्रो काम गर्न छोड्यो ।
पाँच वर्षकी छोरीलाई डोहोर्याउँदै बैशाखीको सहारामा यताउता सामान्य हिँडडुल गरिरहेका मगरले भने–“नहुनेलाई कतैबाट पनि नहुने रहेछ हो सर, घाम र पानीबाट ओतिने एउटा सानो झुपडी पनि गएको महिना हुरीले उडाएर लग्यो ।” छिमेकीको सिकुवामा शरण लिएर बसिरहेका मगर भन्छन्–“तर गाउँलेहर्ले आवश्यक सहयोग गरिरहेका छन् । वडा कार्यालयले सिफारिस बनाइदिएको छ, अब ब्लक (ऐलानीजग्गा) मा घर बनाउँछु ।”
जीवनमा तीतै-तीतो अनुभव गरेका हिमाललाई अब हरेक दुःखहरू सामान्य लाग्न थालेको छ । आफ्नो जीवन आफैंले जिउनुपर्छ भन्ने मान्यता बोकेका उनी भन्छन्– “घरको वरिपरि घिस्रिएरै भएपनि तरकारी लगाउँछु । यहाँका राईहरूको समूहले मोटर किनिदिन्छु भनेको छ । त्यसपछि तरकारी बेचेरै जीवन चलाउन सक्छु होला ।”

राहतको प्रसंगमा उनले अनुभव यसरी सुनाए, “मेरो लागि कोरोनाले धेरै राम्रो गरेको छ । मैले सरकारबाट पाउने अपाङ्ग भत्ता दाल–चामलमा खर्च गर्नु परेको छैन । छोरीलाई यसो मिठाई–बिस्कुट किनिदिन र सागसब्जी जुटाउन त्यो पैसा काम लागेको छ ।”
पहिलोपटक वडा कार्यालयबाट वितरण गरेको राहत प्राप्त गरेका ४२ वर्षीय हिमालको घरमा १-२ छाकका लागि सामल बाँकी नै थियो, उनको अवस्था पहिचान गरी स्थानीय निकायको समन्वयमा उनलाई टेवरनेकल मिनिष्ट्रिज नेपालले फेरि राहत दिन बोलाएको थियो ।
“कोरोना लागेर संसारमा धेरै मानिसहरू बिरामी भएको, धेरै जना मरेको खबर सुन्छु सर । त्यस्तो कुराले धेरै दुःखपनि लाग्छ । तर मेरो लागिचाहिँ कोरोनाले राम्रो गरेको छ ।” उनले ठट्यौली पारामा भने–“म त भन्छु जय कोरोना।”