लकडाउनका कारण बन्द भएको रेलसेवा भारतले मंगलबारदेखि सुचारु गर्यो । भारतले रेलसेवा सुरु गरेपछि विभिन्न स्थानमा रोकिएका नेपालीहरू फर्कनेछन् ।
पहिलो चरणमा दिल्लीबाट प्रदेशका सदरमुकामसम्म रेलसेवा सुरु गरेको भारतमा अनलाइन टिकट काट्नेको संख्या बढ्दो छ । रेल सेवा सुरु भएपछि प्रदेश १ मा ठूलो संख्यामा नेपाली फर्कने अनुमान छ ।
प्रदेश १ का आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्की भारतबाट पहिलो चरणमा २० हजार नेपाली फर्कने प्रारम्भिक अनुमान रहेको बताउँछन् । भारतबाट फर्कने नेपालीहरूको व्यावस्थापनको तयारीका बारे मन्त्री कार्कीसँग गरेको छोटो कुराकानी यहाँ प्रस्तुत गरेका छौं ।
भारतले रेल सेवा सुरु गर्यो, अब रोकिएका नेपाली फर्कन्छन् । कस्तो छ प्रदेशको तयारी ?
भारतमा रहेका नेपालीहरू घर फर्कने भएकाले रोगको संक्रमणलाई ख्याल गरेर पूर्वतयारी अपनाएका छौं । भारतसँग सीमा जोडिएका सबै जिल्लाहरूलाई भारतबाट आउने मान्छे राख्ने होल्डिङ एरियामा बनाउन भनेका छौं । नेपाल प्रवेश गरेपछि उनीहरूको स्वास्थ्य जाँच र क्वारेन्टाइनमा पठाउने तयारी गरिरहेका छौं ।
उत्ताबाट (भारत) आएकाहरूलाई सिधै घर पठाउछौं कि क्वारेन्टाइनमा राख्छौं ?
पहिले त सीमा क्षेत्रमा निर्माण गरेको होल्डिङ एरियामा राख्छौं । भारतसँग जोडिएका क्षेत्रमा होल्डिङ एरिया बन्छ । हामीले बनाउने होल्डिङ एरियामा सातसयदेखि अवस्था हेरेर दुई हजारसम्म अटाउने हुन्छन् । भारतबाट आएकाहरुलाई त्यहाँ राख्छौं । हामीसँग उपलब्ध भएसम्म जाँच गर्छाैं । जाँचपछि जुन जिल्ला हो । त्यो जिल्लाको सीडीओसँग समन्वय गरेर पठाउछौं ।
हामीले जिल्लाहरूलाई निर्देशन दिइसकेका छौं । स्थानीय पालिकाको समन्वयमा क्वारेन्टाइनमा राख्ने व्यवस्थापन गरेका छौं ।
कोरोना परीक्षणका लागि पर्याप्त किट छैन, २–३ दिन होल्डमा राखेर पठाउँदा जोखिम बढ्दैन र ?
हामीले चैत १५ गते निर्णय गरेर जिल्लाहरूलाई क्वारेन्टाइन थप गर्न निर्देशन दिएका छौं । क्वारेन्टाइन थपिँदैछन् । भारतबाट मात्र होइन हामीले मलेसिया र अन्य खाडी मुलुकबाट आउने नेपालीहरूलाई लक्षित गरेर पनि क्वारेन्टाइन बनाउछौं । २–४ दिनपछि प्लेन त खुल्छ । प्लेन खुलेपछि उनीहरू काठमाडौं ओर्लन्छन् । त्यँहाबाट सिधै सम्बन्धित जिल्लामा राख्ने गरीको तयारी पनि गरिरहेका छौं ।
सीमा क्षेत्रमा होल्डिङ एरिया कसरी बनाउने ? यो कस्तो आकारको रहन्छ ?
होल्डिङ एरिया भन्नाले सार्वजनिक स्थान, पार्टी प्यालेसहरू कलेज, स्कूलहरूलाई सुरक्षाकर्मीको निगरानीमा राखिन्छ । भारतबाट आएकाहरूको ट्राभल हिस्ट्री निकाल्छौं, कहाँबाट आएको हो । जाँच भएर आएका हुन् कि होइन सबै कुरा हेर्छाैं । ज्वरो पानि हेर्छाैं । शंकास्पद व्यक्तिलाई सिधै हामी आइसोलेटेड गर्छाैं । सामान्य अवस्थाका छन् भने क्वारेन्टाइनमा गर्छाैं ।
सबैको स्वाथ्य जाँच गर्ने हाम्रो योजना हो । तर स्वास्थ्य सामाग्रीको उपलब्धता कस्तो हुन्छ हेर्छाैं । यो बीचमा २० हजार मानिस हाम्रो प्रदेशमा आउने आँकलन छ । जोगबनी, काँकडभिट्टा मुख्य नाका हुन् । यी नाकाबाट २० हजार आउने अनमान छ ।
यसरी आउने २० हजारलाई राख्ने क्वारेन्टाइन तयार छ ?
क्वारेन्टाइन त छन् । तर हामी फेरि थप्न पनि खोज्दैछौं । अहिले हाम्रो प्राथमिकता होल्डिङ एरिया हो । होल्डिङ एरियाबाट गाडीमा सम्बन्धित जिल्लामा लैजान्छौं । १४ वटै सीडीओहरूलाई तपाईंको जिल्लामा आउनेहरूको संख्या अनुमान गरेर जिल्ला सदरमुकाम आसपासमा क्वारेन्टाइन तयार गर्नु भनेर निर्देशन दिएका छौं । यसरी आउनेमा झापा, मोरङ, सुनसरीका बढी हुन्छन् । उनीहरूलाई राख्न क्वारेन्टाइन छ ।
सीमा रहेकाहरूलाई दुवै देशले क्वारेन्टाइनमा राख्ने सहमति भएको थियो नी नेपाल र भारतबीच ?
क्वारेन्टाइनमा राख्ने सधैँभरि हुँदैन । यो दुई देशको डिप्लोम्याटिक अन्ड्स्यानिङ थियो । तर रोजगारी नपाएपछि नेपालीहरू उतै बसिरहन्छन् भन्ने छैन । आफ्नो घर फर्कने कुरा हुन्छ । नाकामा रोकिएकाहरूको पनि निश्चित अवधि पूरा भयो । सधैँभरि अर्काको देशमा बस्ने भन्ने हुँदैन । पूर्वअनुमान गरेर हामीले तयारी गरेका छौं ।