विराटनगर २४ मंसिर । एक नम्बर प्रदेश सरकारले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा स्थापना गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले प्रदेश लोक सेवा आयोगको कार्यालय विराटनगरमा राख्ने निर्णय निर्णय गरेको हो ।
बैठकबारे जानकारी दिँदै प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले प्रदेश सहकारी रजिष्टारको कार्यालय र यातायात निर्देशनालयको कार्यालय इटहरीमा राख्ने निर्णय समेत बैठकले गरेको बताए ।
सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणको प्रमुख कार्यकारी छनोटकालागि प्रदेश योजना आयोगका उपाध्यक्षको संयोजकत्वमा प्रदेश १ का प्रमुख सचिव र प्रदेश सरकार तोकेको सचिवसहितको कार्यदल बनाएको समेत मन्त्री कार्कीले बताए ।
कार्यविधि अभावको कारण रोकिएको कृषि अनुदानको बाटो खोल्ने गरि भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयको कृषि व्यवसाय प्रर्वद्धन अनुदान कार्यक्रम २०७६ पनि बैठकले स्विकृत गरेको छ ।