वेलिङ्टन, २४ मङ्सिर । न्यूजील्याण्डको “सेतो टापु” भनेर चिनिने ह्वाइट आइल्याण्डमा भएको ज्वालामुखी विस्फोटबाट १३ जनाको मृत्यु भएको छ ।
सोमबार भएको घटनाको विषयमा मंगलबारदेखि न्युजील्याण्ड प्रहरीले अनुसन्धान शुरु गरेको जनाएको छ ।
ज्वालामुखीको खतरा छ भन्दै सोमबारको प्रकोपको एक हप्ता अघि नै चेतावनी दिइए पनि त्यसलाई बेवास्ता गरेको भन्दै चौतर्फी आलोचना भइरहेको समयमा प्रहरीको यस्तो भनाई सार्वजनिक भएको हो ।
पर्यटकका लागि निकै लोकप्रिय उत्तरी द्वीपका तटीय इलाका भ्रमण नगर्न दिइएको सुझावलाई टुर अपरेटरहरुले बेवास्ता गरेको हुन सक्ने विषयमा प्रहरीले छानबिन गर्न लागेको हो ।
प्रहरीले एक वक्तव्य जारी गरी ज्वालामुखीमा “मृत्यु र घाइतेको अवस्थाका बारेमा अनुसन्धान सुरु गरेको” जनाएको छ ।
यद्यपि, उनीहरूले फौजदारी अभियोगको अनुसन्धान गर्ने भनी यसअघि गरेको घोषणा भने फिर्ता लिएका छन् । प्रहरीले फौजदारी अभियोगमा छानबिन गर्न नचाहनुको कारण भने खुलाएको छैन ।
प्रहरीले छानबिन थाल्ने घोषणा गर्नुअघि ट्राभल अपरेटर कम्पनी ह्वाइट आइल्यान्ड टुर्सले सुरक्षात्मक सबै जिम्मेदारी पूर्ण रुपमा पालना गरेको जनाएको थियो ।
अधिकारीहरूले पाँच जनाको मृत्यु भएको पुष्टि गरेका छन् भने अरु आठ जना बेपत्ता छन् । हराइरहेका आठ जनाको मृत्यु भएको उद्धारकर्ताहरुले अनुमान गरेका छन् ।