इटहरी २४ मंसिर । ११ बुँदे इटहरी घोषणा पत्र जारी गर्दै लैङ्गिक हिंसा विरुद्धको इटहरी सम्मेलन सम्पन्न भएको छ ।
इटहरी उपमहानगरपालिकाले आयोजना गरेको सम्मेलनमा एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रमसमेत तय गरेको छ । गत वर्ष भएका कार्यक्रमको समीक्षा गर्दै एक वर्षका लागि लैङ्गिक हिंसा विरुद्धका कार्यक्रम तय गरेको हो ।
इटहरी क्षेत्रमा समानुपातिक, समावेशी प्रतिनिधित्व र महिला नेतृत्व विकासका लागि विशेष योजना बनाउने, समान कामको समान ज्याला दिलाउन सहकार्य गर्ने, सार्वजनिक निकायका भवन संरचना अपांगमैत्री वनाउन पहल गर्ने, कार्यस्थलमा हुने लैङ्गिक हिंसा अन्त्य गर्ने घोषणा पत्रमा जनाइएको छ ।
घोषणा पत्रमा गरिएका प्रतिवद्धता अनुसारको कार्य भोलीदेखिनै सुरु गरिने इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले बताइन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्री जीवन घिमिरेले सामाजिक संजालका कारण लैङ्गिक हिंसाका घटना बढेको वताए । मादक पदार्थ हिंसाको अर्को कारण रहेको मन्त्री घिमिरेको भनाइ छ । देशमै प्रदेश नम्वर १ मा सवैभन्दा बढी मदिराको खपत हुने गरेको तथ्यांक रहेको उनले बताए ।
इटहरी उपमहानगरका मेयर द्वारिकलाल चौधरीले लैङ्गिक हिंसा न्यूनिकरणका लागि उपमहानगरले कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।