विराटनगर, २४ मंसिर । एसिड आक्रमणबाट बाँचेकी एक युवतीको कथामा आधारित रहेको फिल्म ‘छपाक’ को ट्रेलर सार्वजनिक भएको छ । एसिड आक्रमणबाट बाँचेकी लक्ष्मी अग्रवालको जीवनमा आधारित रहेर निर्माण गरिएको फिल्ममा अभिनेत्री दीपिकाले पादूकोणले लक्ष्मीको भूमिका निर्वाह गरेकी छन् ।
सार्वजनिक गरिएको ट्रेलरमा एसिड आक्रमणपछि जीवन पाएकी एक युवतीले आक्रमण पछिको पीडायुक्त जीवन जिउन र आफुमा साहस, सकारात्मक सोच र आत्मविश्वास ल्याएर कसरी समाजमा उदाहरणीय व्यक्तिको रूपमा स्थापित हुन सक्छ भनेर देखाइएको छ ।
विवाह गर्न नमानेको कारणले १५ वर्षको उमेरमा एक पुरूषले आफ्ना दुई साथीसँग मिलेर लक्ष्मी अग्रवालमाथि एसिड प्रहार गरेका थिए । सो घटनामा बाँचेकी लक्ष्मी अहिले एसिड हिंसाविरूद्धको अभियान कर्ता बनेकी छन् । फिल्मलाई मेघना गुलजारले निर्देशन गरेकी छन् । फिल्ममा दीपिकाको ओपोजिटमा विक्रान्त मैस्सी रहेका छन् ।
दीपिकाले यो फिल्म आफ्नो करियरकै सबैभन्दा उत्कृष्ट फिल्म रहेको र फिल्म १० जनावरी २०२० मा रिलिज हुने बताएकी छन् ।आफूलाई एसिड आक्रमणमा परेको युवतीको भूमिका निर्वाह गर्न निकै कठिन रहेको र फिल्मका लागि दीपिकाले धेरै मेहेनत गरेको बताइन् । हरेक पल्ट छायांकन गर्दा दीपिकाले घन्टौँ समय मेकअपमा समय बिताएकी थिइन् ।