विराटनगर, २४ मंसिर । नेपालमा जारी १३औं दक्षिण एसियाली खेलकुद (साग)अन्तर्गत पुरुष फुटबलको स्वर्णका लागि नेपाल र भुटानले खेलिरहेका छन् । स्वर्णका लागि भएको भिडन्तको पहिलो हाफमा नेपाल र अन्डरडग भुटानले बराबरीमा खेलेका छन् ।
दशरथ रंगशालामा भइरहेको उक्त खेलमा भुटानले ३७औं मिनेटमा गोल गर्दै बराबरीमा फर्किएको हो । भुटानका कप्तान चेन्चो ग्याल्सेनले गोल गर्दै बराबरी फर्काएको हो ।
यसअघि अभिषेक रिजालको गोलमा नेपालले अग्रता बनाएको थियो । उनले खेलको १७औं मिनेटमा गोल गर्दै नेपाललाई सुरुआती अग्रता बनाएका थिए ।
सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपालबीचको खेल रोमाञ्चक भइरहेको छ । नेपाल अघिल्लो सागअन्तर्गत पुरुष फुटबलको स्वर्ण पदक विजेता हो । उसले सन् २०१६ मा भारतको गुहावटीमा भएको फाइनलमा खेलमा घरेलु टोलीलाई हराउँदै उपाधि उचालेको थियो ।