काठमाडौँ, २४ मंसिर । नेपालमा भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)मा रजत पदक जितेको राष्ट्रिय महिला फुटबल टोलीका खेलाडी पुरुष फुटबलको फाइनल हेर्नका लागि आफ्नै खर्चमा काठमाडौं फर्किएका छन् । पुरुष फुटबलअन्तर्गत भुटान र नेपालबीचको आज हुने फाइनल खेल हेर्नका लागि महिला फुटबल टोली आफ्नै खर्चमा काठमाडौँ फर्किएका हुन् ।
आज नेपालले पुरुष फुटबलको स्वर्णका लागि खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने उक्त फाइनल खेल दिउँसो ३ बजे हुनेछ । सागको इतिहासमा पहिलो पटक फाइनलमा पुगेको भुटान र पाचौं पटक फाइनल पुगेको नेपालबीचको खेल रोमाञ्चक हुने देखिन्छ ।
उक्त खेल हेर्नका लागि सोमबार पोखरामा फाइनल खेल खेलेको टिम मंगलबार काठमाडौं फर्किएको हो । महिला फुटबल टोलीलाई मंगलबार दिउँसो फर्किने गाडीको व्यवस्था गरिएको थियो तर गाडीबाट फर्किँदा पुरुष फुटबलको फाइनल हेर्न नपाइने भएपछि खेलाडीले आफैँ प्लेन टिकट लिएर फर्किएका हुन् ।
उनीहरूले जनही ५ हजार ५० रुपैयाँमा प्लेनको टिकट काटेर काठमाडौं फर्किएका हुन् । व्यवस्थापकले गाडीमै फर्किने व्यवस्था भएकाले प्लेनमा लैजान नसकिने बताएपछि खेलाडीले आफैँले पैसा तिरेर फाइनल हेर्नका लागि फर्किएको बताइएको छ । एउटै प्लेनमा टिमका सबै सदस्यलाई टिकट नपुगेपछि उनीहरु फरक फरक तीन वटा प्लेनबाट काठमाडौँ फर्किए ।