पोखरा, २३ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलको स्वर्ण भारतले जितेको छ । सोमबार भएको फाइनल खेलमा भारतले आयोजक राष्ट्र नेपाललाई २–० गोलले हराउँदै स्वर्ण हात पारेको हो । नेपाल भने रजतमै सीमित हुन पुगेको छ ।
पोखरा रंगशालामा भएको उक्त खेलमा भारतलाई जिताउन दुवै गोल बाला देवीले गरिन् । खेलको १७ औं बाला देवीले गोल गर्दै भारतलाई सुरुआती अग्रता दिलाएकी थिइन् । नेपालको डिफेन्समा रहेको कमजोरीको फाइदा उठाउँदै बाला देवीले भारतका लागि गोल गरिन् ।
यस्तै दोस्रो हाफको सुरूआतमा नै बालादेवीले दोस्रो गोल गर्दै भारतको अग्रता दोब्बर बनाइन् । त्यसपछि बाँकी समयमा गोल हुन नसकेपछि भारतले नेपाललाई २–० गोलले हराउँदै स्वर्ण जितेको हो ।
महिला फुटबलमा माल्दिभ्सले २–१ गोलअन्तरले श्रीलङ्कालाई पराजित गर्दै कास्य पदक जितेको थियो । यही मङ्सिर १७ गतेदेखि शुरु भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाएका थिए ।