पोखरा, २३ मंसिर । नेपालमा तेस्रो पटक आयोजना भएको दक्षिण एशियाली खेलकूद (साग) अन्तर्गतको महिला फुटबलको स्वर्णका लागि नेपाल र भारतले प्रतिस्पर्धा गर्दैछन् । जारी १३औँ सागको महिला फुटबलमा आयोजक नेपालले चीरपरिचित प्रतिस्पर्धी भारतसँग स्वर्णका लागि आज खेल्दैछ ।
पोखरा रंगशालामा हुने यस खेलमा दुवैको लक्ष्य स्वर्ण हुनेछ । यसअघि शनिबार भएको लिग चरणको अन्तिम खेलमा नेपाल भारतसँग १–० गोलअन्तरले पराजित भएको थियो । लिगको अन्तिम खेलमा स्पर्धा गरेका दुवै टोलीले एक खेलअगावै फाइनलमा स्थान बनाइसकेकाले शनिबारको खेल औपचारिकताका लागि मात्र थियो ।
तर, उक्त खेलमा भारतको जित निकाल्यो । समूह चरणका तीन खेल जितेको भारत ९ अंकसहित समूह विजेता बनेको छ भने नेपाल दुई खेलमा जित र एकमा हारसँगै ६ अंकका साथ समूह उपविजेता बन्यो ।
महिला फुटबलमा तेस्रो स्थानका लागि आज भएको स्पर्धामा माल्दिभ्सले २–१ गोलअन्तरले श्रीलङ्कालाई पराजित गर्दै कास्य पदक जितेको छ । यही मङ्सिर १७ गतेदेखि शुरु भएको महिला फुटबल प्रतियोगितामा आयोजक नेपालसहित भारत, माल्दिभ्स र श्रीलङ्काले सहभागिता जनाएका थिए ।