दुबई २२ मङ्सिर । मध्यपूर्व र उत्तर अफ्रिकामा कम भाडादरमा सेवा प्रदान गर्न शुरू गरेको एअर अरेबियाले यस बर्ष ‘निम्न भाडादरमा राम्रो सेवा दिने’ विमान कम्पनीको पुरस्कार पाएको छ ।
संयुक्त अरब इमिरेट्स (यूएई) को सारजाहमा केन्द्रीय कार्यालय रहेको कम्पनीले पुरस्कार बारे आइतबार जानकारी दिएको छ । कम्पनीले ‘एअरलाइन रेटिङ्स डटकम एअरलाइन्स एक्सिलेन्स अवार्ड’ले दिँदै आएको पुरस्कार जित्न सफल भएको एक विज्ञप्ति जारी गरी जानकारी गराएको हो ।
ठूला उद्योगको अनुभव प्राप्त वरिष्ठ सात उद्योगीले गरेको कार्यसम्पादन मूल्याङ्कनमा उनीहरूले एउटै कम्पनीको झण्डामुनि रहेर दिएको दीर्घ सेवा, हवाई यात्रीको समीक्षा, नाफा, लगानी दर, सेवा तथा कर्मचारीसँगको सम्बन्धलगायत विभिन्न १२ क्षेत्रलाई आधार बनाई पुरस्कार छनोट भएको बताइएको छ ।
पुरस्कार छनोटमा एअर अरेवियाले निम्न भाडादरमा उत्कृष्ट सेवा प्रदान गरेको कुरालाई विशेष जोड दिइएको कम्पनीले उल्लेख गरेको छ ।
एअर अरेबियाका समूह प्रमुख अदेल अलीले निम्न भाडादरमा उत्कृष्ट सेवा प्रदान गरेको हाम्रो कम्पनीले पुरस्कार घोषणापछि अझ उत्कृष्ठ सेवा दिने बताए ।
एअर अरेबियाले मध्यपूर्व, अफ्रिकाका अधिकांश मुलुकहरूसहित विश्वका ५० देशका १७० स्थानमार्फत् आफ्नो सेवा प्रदान गर्दै आएको छ ।