विराटनगर, २२ मंसिर । बलिउडका चर्चित निर्देशक तथा निर्माता करण जोहरको फिल्ममा अभिनेत्री दीपिका पादुकोण काम गर्ने पक्का भएको छ । भारतीय मिडियाका अनुसार, दीपिकाले करणले निर्माण गर्न लागेको नयाँ फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने भएकी छन् ।
‘कपुर एन्ड सन्स’ निर्देशन गरेका साकुन बात्राले फिल्मलाई निर्देशन गर्ने भएका छन् । नाम नखुलाइएको फिल्ममा फिल्मको अभिनेत्रीलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिने भएको छ । फिल्मको बिषयमा तथा फिल्ममा समावेश गरिएका अन्य कलाकारहरूको बारेमा फिल्मको निर्माण टिमले केही पनि बताएका छैनन् ।
बलिउडमा पछिल्लो समयमा दीपिका महिला केन्द्रित फिल्महरू गर्न थालेकी छन् । फिल्ममा सिद्धान्त चतुर्वेदीलाई लिने अनुमान गरिएको छ । फिल्म सन् २०२० को बीचमा छायांकनमा जाने भएको छ । दीपिका र करण जोहरले २०१३ मा प्रदर्शनमा आएको सफल फिल्म ‘ए जवानी हे दिवानी’मा एकसाथ काम गरेका थिए भने फेरी एक पटक एकसाथ चलचित्रमा देखिने भएका छन् ।