एजेन्सी, २२ मंसिर । यसै सिजन मात्र स्पेनिस क्लब रियल मड्रिडबाट फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) गएका गोलरक्षक केयलर नाभासमाथि बोत्तल प्रहार भएको छ । लिग वानअन्तर्गत गए राति भएको खेलका क्रममा कोस्टारिकन गोलकिपर नाभासमाथि बोत्तल प्रहार भएको हो ।
पीएसजीले शनिबार राति भएको खेलमा मोन्टेपिलरमाथि ३–१ गोलको जित निकालेको थियो । मोन्टेपिलरको घरेलु मैदानमा भएको उक्त खेलमा नेयमार, केलियन एम्बाप्पे र मार्को इकार्डीले समान एक–एक गोल गर्दै पीएसजीलाई जिताएका थिए ।
सोही खेलका दौरान नाभासमाथि दर्शकले बोत्तल प्रहार गरेका थिए । दर्शकले प्रहार गरेको पानीको बोत्तल नाभासको नजिकैबाट तिब्र गतिमा प्रवेश गरेको देखिन्थ्यो । आफ्नो पोष्टनजिक अप्रत्याशित रूपमा बोतल प्रहार भएको देखेपछि नाभास केही निराश देखिएका थिए ।
फ्रेन्च च्याम्पियन क्लब पीएसजीले नाभासमाथि भएको व्यवहारप्रति केही प्रतिक्रिया दिएको छैन ।