विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश सरकारका अधिकारीहरुसमेत सहभागी गराएर भएको छलफलपछि सार्वजनिक निजी नीतिगत संवाद मञ्च गठन भएको हो ।
मञ्चको संयोजकमा उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशका अध्यक्ष नरेन्द्र खडका संयोजक रहेका छन् भने उद्योगी अभिनाश बोहोरा र राजेन्द्र राउत सदस्य छन् । यसैगरी प्रदेश सरकारअन्र्तगत रहेका सबै मन्त्रालयका योजना महाशाखा प्रमुख वा प्रतिनिधि ७ जना र एक जना विषयविज्ञ सदस्य रहने छन् ।
उक्त मञ्चले नियमित रुपमा प्रदेश एवं जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुको सहकार्यमा सार्वजनिक निजी नीतिगत समस्याबारे संवाद संचालन गर्ने छ । सरकारी र निजी क्षेत्र सहभागी भएको मञ्चले संचालन गरेको संवादबाट स्थानीय समस्या स्थानीय तहबाट समाधान हुने र लगानी तथा व्यापार प्रवद्र्धनका लागि नयाँ सम्भाव्यता पनि पहिचान गर्न सकिने उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशका कार्यकारी निर्देशक श्याम भण्डारीले बताए ।
मञ्चले नेपाल बंगलादेश व्यापार प्रवद्र्धनका निर्यात गर्न सकिने वस्तुहरुको पहिचान गर्ने र विद्यमान नीतिगत कठिनाईहरुको सम्बन्धमा बृहत अन्तरक्रिया गरी समाधानका लगि पहल पनि थाल्ने भएको छ ।