Sorry, your browser does not support JavaScript! स्थानीय निकायहरुको कृषि विकास अभियान - Merodesh.news

स्थानीय निकायहरुको कृषि विकास अभियान

नेपालमा कृषि वस्तुहरुको आयात केही वर्षदेखि निरन्तर बढिरहेकोछ । हामीले आफूलाई पु-यायर कृषि उत्पादनहरुको निर्यात गर्ने गरेको ईतिहास धेरै पुरानो भएको छैन ।

डा. राजेन्द्र उप्रेती

त्यसैले त्यो संभावना जिवितै रहेकोछ । तर, हालैका वर्षहरुमा भएका राजनीतिक परिवर्तनसँगै हाम्रा विकास तथा प्रशासनिक संरचनाहरुमा पनि ब्यापक फेरबदल आएका छन् । स्थानीय निकायहरु (गाँउपालिका र नगरपालिकाहरु) नयाँ अधिकार र ठूलो विकास बजेटसँगै भौतिक पूर्वाधार निर्माण तथा आर्थिक किवासको अग्रिम मोर्चा समाल्न आइपुगेका छन् ।

नयाँ संगठानिक संरचनाअन्र्तगत सबै स्थानीय निकायहरुमा कृषि तथा पशुविकास कार्यालयहरु स्थापना भएका छन् र तिनिहरुको हाम्रा कृषकहरुको पहिलो आवश्यकता पूरा गर्ने जिम्मेवारी पाएका छन् ।

नयाँ संरचना स्थापना भई कृषि विकासका कार्यक्रम र बजेटहरु पहिलाको जिल्ला र सेवा केन्द्रस्तरबाट स्थानीय निकायहरुमा पुगेपछि कतै एक प्रकारको खालिपन आएको, सेवाग्राहीहरुले सहज सेवा पाउन नसकिरहेकोे भन्ने गुनासोहरु आईरहेका छन् भने अर्कोतर्फ नयाँ स्थापना भएका कार्यालयहरुलाई तथ्याङ्क ब्यवस्थापन र केन्द्रदेखि स्थानीय तहहरुसम्म सूचना प्रवाह गर्न कठिनाई भईरहेकोछ ।

यी समस्याहरु बिस्तारै हल हँुदै जालान् । मैले यो लेखमार्फत उठाउन चाहेको कुरा भनेको केही स्थानीय निकायहरुबाट भैरहेका नमुना सकारात्मक प्रयासहरुको सानो जानकारी हो ।

झापा जिल्लाको हल्दिबारी गाँउपालिका र उदयपुर जिल्लाको बेलका नगरपालिकाले आफ्नो क्षेत्रमा कृषि विकासलाई पहिलो प्राथमिकतामा राखेर स्थानीय जनताको आर्थिक विकासमा कृषिलाई जोड्ने प्रयास गरिरहेका छन् । उनीहरुका प्राथमिकता, नाराहरुले उनीहरुको लक्ष्य देखाउँछ भने उनीहरुले गरिरहेका कामहरुले उनीहरुको लक्ष्यप्रतिको सर्मपण पनि देखाउँछ ।

अघिल्लो हप्ता मैले ति दुवै स्थानिय निकायहरुको भ्रमण गर्ने तथा त्यँहाका पदाधिकारीहरुसंग अन्र्तक्रिया गर्ने मौका पाएको थिए । दुवै स्थानीय निकायहरुका पदाधिकारीहरु उत्साहित छन् र आफ्नो उद्देश्यहरु भेटाउने कुरामा आशावादी छन् । त्यहि आशा र आफ्नो कामप्रतिको विश्वासले कृषि विकासका कार्यक्रमहरुमा उनीहरुको सक्रियता बढाएको छ ।

हल्दीबारी गाँउपालिका झापा : “हल्दीबारीको दृष्टि, कृषि र पर्यटनमार्फत् समृद्धि” लाई आफ्नो कामको मूल नारा बनाएर अगाडि बढिरहेको छ झापा जिल्लाको पूर्वदक्षिणमा रहेको हल्दीबारी गाँउपालिका । माथी उल्लेखित नारालाई प्राप्त गर्न यो गाँउपालिकाले विभिन्न अभियानहरु संचालन गरिरहेको छ । केही नमुना अभियानहरु निम्नानुसार रहेका छन् ।


फोटोहरुः हल्दीबारीमा खनिँदै गरेको माछा पोखरी र माछापालन तालिमको ब्यानर

हल्दीबारीको वाचा झापाभरी माछा कार्यक्रम : यो कार्यक्रमले हल्दीबारी गाँउपालिकामा रहेका पानीका श्रोतहरुको संरक्षण, सिमसारहरुको संरक्षण र सदुपयोग तथा ब्यावसायिक माछापालन कार्यक्रमलाई अभियानको रुपमा संचालन गरेर त्यसलाई ग्रामीण क्षेत्रको आर्थिक विकास र पर्यटनसँग जोड्ने उद्देश्यका साथ संचालन भैरहेको छ ।

यो कार्यक्रमअन्र्तगत पुराना पोखरीहरुको तथा स्थानीय माछाहरुको संरक्षण, नयाँ पोखरी निर्माण तथा ब्यवसायिक माछापालनका सीपविकास तालिमहरु संचालन भैरहेका छन् ।

हल्दीबारीका महिला विकासमा पहिला कार्यक्रम : यो कार्यक्रममार्फत् गाँउपालिकामा रहेका सबै २७ वटा टोलसमितीहरु (पहिलाका गाँउ विकास समितिका हरेक वडाहरुमा) महिलाहरुको नेतृत्व र सहभागितामा गठन भएका छन् । तिनै महिलाहरुले नेतृत्व गरेका टोलसमितिहरुमार्फत गाँउपालिकाका विकास कार्यक्रमहरु संचालन भैरहेका छन् ।

फोटोहरुः हल्दीबारीमा अघिल्लो हप्ता भएको सिंचाई मोटर साझेदारी सम्झौताको कार्यक्रम

बेलका नगरपालिका, उदयपुर : आर्थिक वर्ष २०७५-७६ लाई कृषि उत्पादनको आधार वर्ष घोषणा गरेर “उत्पादनमा हाम्रो साथ बस्दिँन म खाली हात” नारा अगाडि सारेको बेलका नगरपालिकाले आफ्ना कृषि विकासका कार्यक्रमहरुलाई निम्नानुसार अभियानहरुमार्फत् समेट्न खोजेको छ ।

  • कृषि र पशुमा लगानी ल्याउँछौ सुनौलो बिहानी
  • नजिकको ठाम नछोडी गरौ साना काम
  • शुद्ध अर्गानिक उत्पादन बेलकाको पहिचान
  • एक गाँउ एक उत्पादन गरिबीको निदान

फोटोहरु : बेलका नगरपालिकाको परिसरमा रहेको प्लाष्टिक घर र मेवा खेती

माथि उल्लेखित नारा र अभियानहरुको अलावा बेलका नगारपालिकाको परिसरमा प्रवेश गर्दा देख्न सकिने कृषि बाली उत्पादनका सानो भएपनि नमुना उत्पादन स्थलहरुले उक्त नगरपालिकाको बोली र काममा एकरुपता दर्शाउँछ ।

नगरपालिका परिसरमै रहेका प्लाष्टिक घर, नेटजाली घर, मेवा खेती, कृषि औजारहरु, पानी संरक्षणका लागि बनाईएका पोखरीहरुले जोकोहीको ध्यान खिचिरहेका हुन्छन् ।

कृषि विकासका नारा, विभिन्न अभियानहरुलाई सघाउन नगरपालिकाले विभिन्न निकायहरुसँग साझेदारी गरिरहेको छ । आफ्नो विकास बजेटको ठूलो हिस्सा यस्ता कार्यक्रमहरुमा लगाएको छ । नगरबासीहरुको चेतना उकास्नका साथसाथै उनीहरुको प्राविधिक ज्ञान र सीप विकास गर्न आवश्यक प्राविधिक जनशक्तिको ब्यवस्थापन पनि बेलका नगरपालिकाको उल्लेखनीय पक्ष हो ।

यसरी आफ्नो स्पष्ट लक्ष, त्यो भेट्टाउनका लागि चाहिने अभियानहरु अनि अभियानलाई सघाउने बजेट, जनशक्ति र साझेदारीले यो नगरपालिका एउटा नमुना नगरपालिकाको रुपमा विकास हुने जर्मको गरिरहेको छ ।


फोटोहरु : बेलका नगरपालिकाको परिसरमा रहेको प्लाष्टिक पोखरी, जालिघर र पावरटिलर

अघिल्लो हप्ता कार्यालयको काम विशेषले झापा र उदयपुरमा रहेका र कृषि विकासलाई आफ्नो विकासको प्राथमिकतामा राखेका यी दुई स्थानीय निकायहरुको भ्रमण गर्ने तथा त्यहाँका जनप्रतिनिधिहरु र कर्मचारी नेतृत्वसँग उनीहरुका कार्यक्रमबारे छलफल गर्ने मौका जुरेको थियो ।

दुवै स्थानीय निकायहरुमा प्रयाप्त बाहिरी दुनियाँ देखेको र अनुभवले खारिएको युवाहरुले नेतृत्व गरिरहेका रहेछन् । उनीहरुले विकास साझेदारहरुसँगको सहकार्य र साझेदारीको महत्वलाई बुझेका रहेछन र धेरैभन्दा धेरै सहकार्य र साझेदारीका प्रयासहरु गरिरहेका छन् । यसरी नै दुवै स्थानीय निकायहरुका प्रमुख कार्यकारी अधिकृतहरु पनि कृषि विकासका अभियानहरुको योजना र सञ्चालनमा सक्रियताका साथ लागि परेका रहेछन् ।

धेरैले भन्ने गरेको “प्रसासनीक नेतृत्व हावी हुँदा कृषि बिकास ओझेलमा पर्छ” भन्ने कुराको अपवादको रुपमा पाँए मैले उक्त दुवै स्थानीय निकायका कार्यकारी अधिकृतहरुलाई । उनीहरु आफै कृषि विकासका कार्यक्रमहरुमा प्राविधिकहरु भन्दा सक्रिय भएर लागिरहेका रहेछन् ।

सबैजसो स्थानीय निकायहरु कृषि विकासका कुराहरु गर्छन्, नाराहरु बनाउँछन् तर जब कृषि विकास अभियानहरु सिर्जना गर्ने बेला आउँछ, कृषि विकासका लागि बजेट छुटयाउने बेला आउँछ त्यो बेला आफूले भन्ने गरेका सपना, नाराहरुप्रति आँखा चिम्लिन्छन् र बजेट कार्यक्रमको मूल हिस्सा अन्तैतिर मोडिदिन्छन् । अनि सपना एकातिर हुन्छ, बोली एकातिर हुन्छ तर काम अर्कैतिर ।

ग्रामीण क्षेत्रमा कृषिको विकास नभएसम्म मानिसहरुको जिविकोपार्जन अवस्थामा सुधार आउँदैन अनि कृषि क्षेत्रबाट पलायन हुनेहरुको संख्या र बसाईसराई रोकिँदैन । ग्रामीण क्षेत्रमा सुधार आउनका लागि उनीहरुका किन्ने भन्दा उत्पादित बेच्ने वस्तुहरु धेरै हुनुपर्छ ।

उनीहरुको खर्चभन्दा आम्दानी धेरै नभएसम्म देखिने समृद्धिका सपना कोरा कल्पना मात्र हुन् । त्यसैले ग्रामीण क्षेत्रमा कृषि विकासका सपना बुनेर त्यो लक्ष्य भेटाउन लागिपरेका हल्दीबारी र बेलकालाई सकेको सहयोग गरौँ, उनीहरुको सिको गरौँ र दिगो समुन्नत कृषि विकासको लागि योगदान गरौँ ।
(लेखक कृषि ब्यवसाय प्रर्वद्धन सहयोग तथा तालिम केन्द्र, झुम्काका प्रमुख हुन् )

Advertise Expired !

सम्बन्धित समाचारहरु

कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन
कृषि विश्वविद्यालयको सम्भाव्यता अध्ययन

काभ्रेपलाञ्चोक। बनेपा नगरपालिका–१४ साँगामा कृषि विश्वविद्यालय निर्माणको सम्भाव्यता अध्ययन गरिएको छ । प्रदेश नं ३ स्थित कृषि, सहकारी तथा गरीबी निवारण मन्त्रालयको चालू वर्षको योजनाअन्तर्गत साँगामा प्रदेशस्तरीय विश्वविद्यालयको सम्भाव्यता अध्ययन[...]

चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित
चिया विषयमा पढाइ हुने भएपछि किसान उत्साहित

इलाम। चिया विषयमा पढाइ हुने भएपछि इलामवासी उत्साहित भएका छन । इलाम सूर्योदय नगरपालिकाले माध्यमिक तहमा चिया विषयलाई पाठ्यक्रमको रूपमा लागू गर्ने योजना अघि बढाएसँगै यस विषयमा पढाइ हुनेभएको छ[...]

कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च
कृषक र व्यापारीको समस्या समाधान गर्न प्रदेशस्तरीय साझा मञ्च

विरानगर। एक नम्बर प्रदेशमा व्यवसायी तथा कृषकहरुका समस्या पहिचान गरी समाधान गर्न साझा मञ्च गठन भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ एक नम्बर प्रदेशको अगुवाईमा २० माघमा विराटनगरमा प्रदेश[...]