विराटनगर। नेवारी समुदायमा बालिकाहरुको बेलविवाह गरिदिने प्रचलन छ । परम्परा धान्नका लागि मात्र नभएर यसको आफ्नै विशेष महत्व पनि छ ।
तिन बर्षदेखि माथि एघार बर्षसम्मका बालिकाहरुको बेल विवाह गरिदिने प्रचलन छ । नेवार कन्याहरूको महिनावारी हुनु अघिनै बेलसंग विवाह भइसक्नु पर्ने धार्मिक परम्परा छ । यही मान्यताअनुसार विराटनगर –१० स्थित झिपुच मन्दीर परिसरमा सोमबार एकैसाथ २८ जना कन्याहरुको सामूहिक बेलविवाह सम्पन्न भएको छ । छोरीको बेलविवाह र छोराको व्रतबन्ध अनिवार्य गर्नैपर्ने उक्त समुदायको मान्यता छ ।
बेल जडीबुटीमध्ये श्रेष्ठ प्रजाति हो । बेलविवाहमा बेललाई स्वर्णकुमार मानेर बालिकाको विवाह गराई दिनुलाई अगाध प्रकृतिप्रेमको रूपमा लिन सकिन्छ । नेवार समुदाय भित्रकै पंडित पुरोहितहरुले विधिवत बेल विवाह सम्पन्न गराउने गर्छन । विवाह सकिएपछि भने बालिकाहरुलाई ८४ व्यन्जन सहितको नेवारी परिकार थ्याबु ख्वाउने प्रचलन छ ।
बेलविवाह, इहीपछि कन्याहरूले अन्य विवाहित महिला सरह पहिरन तथा शृङगार गर्न सक्छन् । स्वर्णकुमार बेलसग विवाह गराएर भगवानको मन्दिरमा प्रवेश गराउने प्रचलन छ । इही गरेका चेलीहरू कहिल्यै पनि विधवा हुदैनन् भन्ने विश्वास र मान्यता उक्त समुदायमा पाइन्छ । संसारिक जीवन जिउनका लागि महिला–पुरुषबीच हुने विवाहलाई उनीहरू जीवन जिउने सम्झौता अर्थात् जीवन साथीको रूपमा मात्र ठान्छन् ।
यसर्थ इही गरेका युवतीहरूको कुनै कारणवश पुरुषसंग विवाह हुन नसके पनि उनीहरूमा हीनताबोध नहुने मनोविश्लेषकहरू बताउछन् । उपरोक्त तथ्य नारी अधिकारका पक्षमा सकारात्मक देखिएका छन् । व्यक्तिगतरुपमा बेलविवाह सम्पन्न गर्दा धेरै फजुल खर्च हुने भएपछि न्यूनिकरण गर्ने उद्धेश्यले पछिल्लो केही दसक यता सामूहिक वेलविवाहको प्रचलन बढदो रहेको छ ।
सामूहिक बेलविवाहको चलनले फजुल खर्च नियन्त्रण भएको छ भने नेवार समुदायभित्रका धेरै थरीका उपजातिहरूबीच जातपात, उचनीच र छोइछिटोको समेत विभेद न्युनिकरण गर्न सहयोग पुगेको छ ।