विराटनगर । प्रविधिको प्रयोग विस्तारगर्ने उद्धेश्यले विराटनगरमा अन्तराष्ट्रियस्तरको एकदिने वर्डप्रेस सम्मेलन हुने भएको छ । आयोजक समितिले आज पत्रकार सम्मेलनको आयोजनागर्दै यहि पौष ७ गते सम्मेलन हुने जानकारी गराएको हो ।
संसारको सबैभन्दा प्रख्यात वेबसाइट बनाउने वर्डप्रेस सम्मेलनमा प्रविधिसम्बन्धि चर्चा र प्रशिक्षण लगायतका कार्यक्रम हुने जनाइएको छ । पत्रकार सम्मेलनमा सो बिषयमा जानकारी गराउनुहुंदै कार्यक्रम संयोजक गंगा काफ्लेले प्रबिधि सम्बन्धि महामेलाकोरुपमा लिइने सो कार्यक्रम काठमाण्डौ बाहिर दोश्रो पटक हुन लागेको बताए । उनले सम्मेलनमा विश्वभरिका २२ बढी देशका आइटी सम्बन्धि विज्ञको सहभागिता हुने जानकारी दिए ।
आइटी विज्ञ एवम आयोजक समितिका सदस्य पर्वतराज झाले कार्यक्रम आयोजनाले विराटनगरलाई प्रविधि मार्फत विश्वसामु चिनाउनुका साथै प्रविधिमा लगानी गर्ने वातावरणको विकास हुने बताए । चारसय बढीको सहभागिता रहने सो कार्यक्रम विश्वस्तरीय हुने आयोजक समितिले जनाएको छ । कार्यक्रममा एकदर्जन बढी देशहरुबाट आउने विज्ञहरुले वर्डप्रेस सम्बन्धि कार्यपत्र प्रस्तुत गर्ने तालिका छ ।
यस्तै सामाजिक कार्य गरिरहेका विभिन्न संस्थाहरुको वेबसाईट बनाएर निशुल्क हस्तान्तरण गर्ने र प्रदेश एकमा संचालन भइरहेका विभिन्न स्टार्ट अप कम्पनीहरुको सामुहिक उदघाटन कार्यक्रम समेत हुने जनाइएको छ ।
कार्यक्रममा जेटप्याक, वुकमर्स, ब्लुहोस्ट, गोड्याडी, सफ्टवेरीका कलेज, पाइला टेक्नोलोजिज सहित रारा थिम लगायतको सहभागिता रहने छ ।