Sorry, your browser does not support JavaScript! स्वास्थ्य उपचार सम्बन्धी कसूर र कानून कार्यान्वयन – Merodesh.news

स्वास्थ्य उपचार सम्बन्धी कसूर र कानून कार्यान्वयन

स्वास्थ्य उपचारमुलुकी देवानी र अपराध संहिता कार्यान्वयनमा आएपछि सकारात्मक भन्दा नकारात्मक सन्देश मुलुकभर फैलाईएका छन् । तुलनात्मक रुपमा देवानी संहिताको बारेमा त्यति चर्चा भएको छैन तर अपराध संहितामा भएको दण्ड सजाय सम्बन्धी केही प्रावधानहरुप्रति चर्को विरोध मात्र भएको छैन, राजनीतिकरण पनि हुन थालेको आभास हुँदैछ । संहिताको आलोचना गर्ने समुदायहरुमध्ये अग्रपंक्तिमा छन् – डाक्टरहरु । कतिसम्म भने हालै प्रसारीत एक टेलिभिजन बहस कार्यक्रममा चिकित्सक संघका अध्यक्ष र सत्तारुढ दलका सभासद बिचको संवाद गालीगलौजमा समेत परिणत भएको देखियो ।

अपराध संहिताको इलाज सम्बन्धी कसूरका केही दफाहरुमा भएका व्यवस्थाले इमानदारीतापूर्वक काम गर्दा पनि डाक्टरहरुलाई जेल हालिने संभावना भएको भन्दै ति दफाहरु संशोधन नगर्ने हो भने पेशा नै परित्याग गर्ने सम्मको धम्की डाक्टरहरुले दिए्, यद्यपी २०७५ भदौ १५ सम्म भने उनीहरु थामथुम भएका छन् । अर्कोतिर प्रधानमन्त्रि के.पी. शर्मा ओली भने डाक्टरहरुले भने जस्तो अपराध संहिताले कोही पनि डाक्टरलाई जेल नहाल्ने भन्दै सान्त्वना दिई रहनु भएको छ ।

सामान्यतयाः कुनै व्यक्तिलाई जेल सजाय हुनु भनेको स्वतन्त्र, निष्पक्ष र सक्षम अदालतले सरकारवादी फौजदारी अपराधमा दोषी ठहर गर्नु हो । कुनै व्यक्तिलाई अपराधमा दोषि ठहर गर्नु त्यति सजिलो कार्य होइन । त्यसैले वर्तमान कानूनले कुन्कुन् कसूर प्रमाणित भएको खण्डमा अदालतले डाक्टरहरुलाई जेल पठाउन सक्ला भन्ने विषयमा सतहीरुपमा होइन, गहिरो अध्ययन हुनु आवश्यक छ र डाक्टरहरुले उठाएका सरोकारका विषयहरुलाई केही प्रश्नहरुको विश्लेषण गरी निष्कर्ष निकालिनु पर्दछ । जस्तै – डाक्टरहरुबाट फौजदारी कसूर वा अपराध हुन सक्छ कि सक्दैन ? अन्य मुलुकहरुमा यस सम्बन्धमा के कस्तो कानूनी व्यवस्था र अभ्यास भएको छ ? वर्तमान मुलुकी अपराध संहिताको प्रावधानले डाक्टरहरुलाई कैद सजाय हुनसक्ने संभावना कति होला ?

पहिलो प्रश्नलाई विचार गर्दा, कोही व्यक्तिले कसूर वा अपराध गरेको हो वा होइन भनि छुट्याउने प्रमुख आधार भनेको निषेधित कार्य गर्नु र सो कार्य गर्दाको उसको मनसाय हो, यद्यपी कहिलेकाहिं मनसायतत्व प्रमुख आधार नहुन सक्छ । निषेधित कार्यको सम्बन्धमा नेपालको मुलुकी अपराध संहितामा इलाज सम्बन्धी निम्न प्रकारका कार्यलाई कसूर वा अपराध मानिएको छ :–
(क) चिकित्सा सम्बन्धी विषयमा निर्धारित शैक्षिक योग्यता प्राप्त गरी कानून बमोजिम इलाज अर्थात् उपचार गर्नको लागि इजाजत (अनुमति) प्राप्त नगरी चिकित्सा सम्बन्धी कार्य गरेमा (दफा २३०), (ख) गलत नियत वा मनसाय राखी उपचार गर्दा ज्यान जाने वा अङ्ग भङ्ग हुने कार्य गरेमा (दफा २३१), (ग) शैक्षिक योग्यता भएको तथा इजाजत (अनुमति) लिएको व्यक्तिले लापरबाही वा हेलचेक्र्याँई पूर्वक उपचार गर्दा कसैको ज्यान जाने वा अङ्ग भङ्ग हुने कार्य गरेमा (दफा २३२) इलाज सम्बन्धी कसूर अन्तर्गत् अन्य निषेधित कार्यहरु पनि रहेका छन् जसमा जोखिमपूर्ण औषधि बिक्री वितरण गर्न नहुने, औषधिमा मिसावट गर्न वा मिसावट गरेको औषधि बिक्री गर्न नहुने, म्याद नाघेको वा पूर्व सावधानी नलिई औषधि बिक्री, वितरण गर्न नहुने, एक औषधिलाई अर्को औषधि भनी बिक्री वितरण गर्न नहुने, झुठ्ठा प्रतिवेदन दिन नहुने आदि रहेका छन् । डाक्टरहरुको मुख्य आपत्ति चाहिं दफा २३०, २३१ र २३२ मा रहेको पाइन्छ । दफा २३० देखि २३२ सम्मका प्रावधान अन्तर्गत्का कसूर प्रमाणित भएमा दोषिलाई कसूरको प्रकृति अनुसार ज्यान मारे सरह, अङ्गभङ्ग गराए सरह वा पाँचवर्षसम्म कैद हुने व्यवस्था रहेको पाइन्छ । यसै व्यवस्थाका कारण उपचार गर्दा कुनै त्रुटी भएमा कैदमा बस्नु पर्ने हो कि भन्ने त्रासले गर्दा डाक्टरहरुले उपरोक्त दफाहरुको विरोध गरेका हुन् ।

अहिलेको अवस्था हेर्दा अपराध संहिता र नेपाली डाक्टरहरुको बिचमा सैद्धान्तिक अन्तरविरोध स्पष्ट देखिएको छ । संहिता भन्छ– डाक्टरहरु पनि उपचार सम्बन्धी अपराधमा दोषि हुन सक्छन् । डाक्टरहरु भन्छन– यस्तो कानून अन्तर्राष्ट्रिय मूल्य र मान्यता विपरीत छ (नेपाल चिकित्सक संघको प्रेस विज्ञप्ती, २०७५ साउन २८ गते) । समाजमा स्थापित मूल्यमान्यता के छ भने डाक्टरहरुले विरामीको ज्यान लिने, उपचारमा लापरवाही गर्ने वा विरामीको अहितमा अन्य कुनै कार्य गर्दैनन् र संहीतामा उल्लेखित निषेधित कार्य हुन गएतापनि डाक्टरहरुको मनसाय उक्त कार्य गर्ने नहुने भएकोले उनीहरुले गरेको कार्य सामान्यतयाः अपराध मानिदैन । तर यी मान्यताहरुमा बेलाबखत गंभीर प्रश्नहरु खडा भएका छन् ।

अन्जानबश नै भएपनि, संहितामा उल्लेख भएजस्तै उपचारमा त्रुटी, लापरवाही वा गलत उपचार भएका घटनाहरु नेपालका सबै ठाउँहरुमा भईरहेका छन् तर त्यस्ता घटनाको चित्त बुझ्दो ढंगले छानवीन भने हुँदैनन । यस लेखका लेखकसँग नेपालका राष्ट्रियस्तरका सञ्चार माध्यमहरुमा सार्वजनिक भएका चिकित्सा लापरवाही सम्बन्धी दर्जनौं समाचार र आलेखहरु संग्रहित छन् । तिनीहरुको अध्ययन गर्दा नेपालको चिकित्सा क्षेत्रका बेथितीहरु छताछुल्ल हुन्छन् । ति घटनाहरु आफैंलाई भएको जस्तो महसुस गर्ने हो भने जुनसुकै व्यक्तिको शरीर थरर काम्न थाल्छ । समाचार अनुसार, कुनै एक जिल्लामा एउटी सुत्केरीको गुप्ताङग भित्रै प्याड छोडेर टाँचा लगाइयो र १२ दिनपछि मात्र थाहा भयो । त्यस अवधिमा दुखाई कम गर्ने र घाउ सुकाउने एन्टिबायोटीक मात्र खुवाइयो ।

अब सोच्नुहोस, यस अवस्थालाई विरामीले कसरी सामना गर्छन ! काठमाडौंको मुटुमा रहेको एक चर्चित नीजि अस्पतालमा देब्रे घुँडाको अपरेशन गर्न भनि गएकी एक महिलाको दाहिने घुँडाको अपरेशन गरियो । यो गल्तीलाई सुरुमा ढाकछोप गर्न खोजिएपनि पछि स्वीकार गर्न अस्पताल बाध्य भयो । अर्को एउटा अस्पतालमा खुट्टाको अप्रेसन गर्न गएकी एक बालिकाको अप्रेसनका क्रममा डाक्टरले रक्तनली नै काटिदिए । सो अस्पतालले प्रहरीको रोहबरमा पीडित पक्षलाई क्षतिपूर्ति तिर्न बाध्य भयो । त्यसकारण घटना विश्लेषण गर्ने हो भने डाक्टरहरुबाट आपराधिक प्रकृतिका कार्य हुन सक्छन् भन्ने देखिन्छ ।

दोश्रो प्रश्नको जवाफ खोज्ने हो भने नेपालमा मात्र होइन, भारत, चीन, जापान, अमेरीका आदि देशहरुमा पनि चिकित्सा लापरवाही  (Medical Malpractice) का प्रशस्त घटनाहरु हुन्छन् । भारतको एक अस्पतालमा अपरेशन थिएटर भित्र अपरेशन गर्न विरामीलाई बेडमा सुताइन्छ अनि चिकित्सक लगायतका मेडिकल स्टाफहरु एक आपसमा बाझाबाझ गछ्र्रन (भिडियो सार्वजनिक छ) । एशोसिएसन अफ हेल्थ केयर प्रोभाईडर्स, भारतका महानिर्देशक डा. गिरधर जे. ज्ञानीले स्वास्थ्य सम्बन्धि एक पत्रिकालाई २०१६ अगस्त २ मा दिएको अन्तर्वार्तामा “भारतमा प्रत्येक वर्ष ५२ लाख चिकित्सा त्रुटीका घटनाहरु ह्ुन्छन्” भनि उल्लेख गरेका छन् । यसको अर्थ ५२ लाख नै कारवाही हुनुपर्ने प्रकारका घटना हुन् भन्ने होइन तर केही त गंभीर प्रकृतिका पक्कै होलान् नि !

इलाज सम्बन्धी कसूरमा दण्ड सजायको व्यवस्थाका सम्बन्धमा विभिन्न देशका कानूनहरुको अध्ययन गर्ने हो भने डाक्टरलाई जरीवानाका अतिरिक्त कैद सजाय हुन सक्ने व्यवस्था पनि भएको पाइन्छ । अमेरीकामा विश्व प्रख्यात गायक माइकल ज्याक्सनको मृत्यु भएपछि उनको उपचार गर्ने डाक्टरलाई अदालतमा फौजदारी मुद्धा चलाईएको घटना धेरैलाई थाहा भएको हुनुपर्छ । भारतको दण्ड संहितामा मात्र होइन, बंगलादेशको दण्ड संहिता, १८६० को दफा ३०४ र अन्य दफाहरुमा लापरवाहीका कारण कसैको ज्यान गएमा कैदको सजाय हुनसक्ने व्यवस्था छ जुन डाक्टरलाई समेत लागु हुन्छ । त्यहाँको उपभोक्ता संरक्षण ऐनको दफा ५३ मा सेवा प्रदायकको लापरवाहीका कारण कुनै उपभोक्ताको स्वास्थ्य वा जीवन खतरामा पर्न गएमा ३ वर्षसम्म कैद वा २ लाख टाका जरीवाना वा दुवै सजाय हुने व्यवस्था छ । (अक्तेर, २०१३) जापानमा सन् १९७५ देखि २००९ सम्ममा १६१ जना डाक्टरहरु विरुद्ध मुद्धा चलाईएकोे देखिन्छ जसमध्ये केवल ४ जना मात्र निर्दोष सावित भएका छन् । दोषि ठहर गरिएका हरुलाई आर्थिक जरीवाना मात्र होइन, कैदको सजाय समेत सुनाईएको छ । (तोरु हियामा समेत, २०१५)

उपरोक्त तथ्यहरुले पुष्टि गरे अनुसार डाक्टरहरुलाई कैद सजाय हुन सक्ने कानून निर्माण गर्ने नेपाल पहिलो देश होइन । अब चिकित्सक संघले नेपाली जनतालाई बुझाईदेओस कि संसारमा कहिं नभएको सजाय नेपालमा मात्र गर्न खोजियो भनि किन वक्तव्य दिइएको हो ?

अब अन्तिम प्रश्नको निचोड तर्फ लागौं । चिकित्सक संघले संहिताका केही व्यवस्था संशोधनको लागि प्रस्ताव राखेको छ । उक्त प्रस्तावको अध्ययन गर्दा केही विषयहरु जायज भएपनि केहीमा सहमत हुन सकिने अवस्था छैन । डाक्टरहरुको संगठन मात्र होइन, लगभग सबै डाक्टरहरुले यो कानूनमा उल्लेखित लापरवाही, गलत नियत भन्ने शव्दहरुप्रति धावा बोल्दै लापरवाही र गलत नियत भन्ने कुरा उपचारमा हुँदै हुँदैन भनेका छन् तर नेपाल मेडिकल काउन्सीले जारी गरेको चिकित्सक आचार संहितामा नै लापरवाही भन्ने शव्द उल्लेख भएको छ र यसमा डाक्टरहरुको सहमति रहेको देखिन्छ ।

नेपालकै चर्चित मृगौला रोग विशेषज्ञले भन्नु भएको छ, “यहाँ डाक्टर डाक्टर बीच सहकार्य भएन । मृगौला फेल भएको बिरामी देख्दा देख्दै पनि अस्पताल पठाउँदैनन् । बिग्रेपछि मात्रै पठाउँछन् । बिरामीलाई अस्पतालमा नै राख्दा अस्पताललाई फाइदा हुन्छ । बिरामीको समस्याभन्दा पनि आफ्नो फाईदातिर हेर्नेहरु पनि बढ्दैछन् ” (डा. ऋषि कुमार काफ्ले, रातोपाटी, २०७५) । अब भन्नुहोस् डाक्टरज्यूहरु, यस्तो कार्यलाई सही नियत भन्ने कि गलत ? डाक्टरहरुप्रति देखाईने सम्मानका आधारमा भन्ने हो भने गलत नियत भन्न कसैलाई मन लाग्दैन तर प्रश्न त उठाउनै पर्छ । त्यसैले नियत कस्तो थियो, लापरवाही भएको हो कि होइन भनि प्रमाणित गर्न विशेषज्ञको नेतृत्वमा छानवीन हुनु राम्रो कुरा हो ।
कसूर ठहरीयो भने कसूरदारबाट क्षतिपूर्ति भराउने व्यवस्थाको पनि चिकित्सक संघले विरोध गरेको पाइयो । यो धारणा उपयुक्त होइन किनभने जसले अपराध गर्छ, क्षतिपूर्ति पनि उसैले तिर्नुपर्ने फौजदारी कानूनमा प्रचलित व्यवस्था हो । बलात्कारका अपराधी, मानिस किनबेचका अपराधी, घरेलु हिंसाका पीडक, जातीय विभेद गर्ने व्यक्ति आदिले पीडितलाई क्षतिपूर्ति दिनुपर्ने नेपालकै कानूनमा उल्लेख छ किनभने क्षतिपूर्ति दिनको लागि अपराध प्रमाणित हुनुपर्छ । यदि अदालतबाट इलाज सम्बन्धी कसूर प्रमाणित भयो भने क्षतिपूर्ति दिन्न भन्न पाइन्छ र !

संहिताको इलाज सम्बन्धी कसूर बमोजिम डाक्टरहरुलाई कैदको सजाय हुनसक्ने संभावनालाई विचार गर्दा इलाज सम्बन्धी कसूरका दफाहरुको कार्यान्वयन हचुवाको भरमा नहुने स्पष्ट छ । डाक्टरहरुलाई भटाभट पक्राउ गरी जेल हालिन्छ भनि जतिसुकै प्रचार गरिएपनि डाक्टरहरुलाई अपराधमा मुद्धा चलाउनु अघि धेरै विषयहरुमा ध्यान दिनुपर्ने हुन्छ । पहिलो विषय, कसैले डाक्टर विरुद्ध अपराध भएको भनि जाहेरी दरखास्त दिएकै भरमा आरोपीत डाक्टरलाई पक्राउ गर्न नमिल्ने न्यायीक अभ्यास भएको पाइन्छ । ललिता कुमारी वि. उत्तर प्रदेश सरकार (२०१४) भएको मुद्धामा भारतीय सर्वोच्च अदालतले प्रारम्भिक अनुसन्धान नगरी केवल जाहेरी दरखास्तका आधारमा मात्र चिकित्सकलाई पक्राउ गर्न र मुद्धा चलाउन नहुने कुरा स्पष्ट पारेको छ ।

ज्याकब म्याथ्यु वि. पञ्जाव राज्य भएको मुद्धामा भारतीय सर्वोच्च अदालतले चिकित्सा लापरवाही भएको भन्ने उजुरीमा अर्को स्वतन्त्र डाक्टरबाट छानवीन गरी उजुरीलाई पुष्टि गर्ने राय प्राप्त नभएसम्म डाक्टर विरुद्ध उजुरी दर्ता गर्न नहुने, उजुरी दर्ता भएपनि अभियोजन गर्ने समयमा आरोपीत डाक्टरलाई फेला पार्न नसकिने भएमा मात्र पक्राउ गर्नुपर्ने लगायतका मार्गनिर्देशन जारी गरेको छ । दोश्रो विषय, फौजदारी मुद्धाको सम्पूर्ण चरणहरुमा (अभियोजन, अनुसन्धान, फैसला आदि) प्राकृतिक न्यायको सिद्धान्तलाई नेपालको न्याय प्रणालीले प्राथमिक र मूलभूत सिद्धान्तको रुपमा अंगिकार गरी लागु गरेको छ ।

यस सिद्धान्त अनुसार प्रत्येक आरोपीतले आफ्नो कुरा स्पष्टसँग राख्न पाउँछन् । डाक्टरहरु पनि यो अधिकारका हकदार हुन् । त्यस्तै, प्रमाण कानूनको सिद्धान्त अनुसार दाबी लिनेले नै प्रमाण पु–याउनुपर्ने हुन्छ । उक्त प्रमाण शंकारहीत (Beyond Reasonable Doubt) हुनुपर्छ र शंकाको सुविधा आरोपीतले पाउँछ । यसको अर्थ हो मुद्धा चलाउने पक्षले विशेषज्ञबाट छानवीन गराई विश्वसनीय प्रमाण (Beyond Reasonable Doubtदिन सक्यो भने मात्र कसूर प्रमाणित हुन सक्छ ।

तेश्रो विषय न्यायकर्ताको भूमिकाको हो । दण्डसजाय निर्धारण गर्दा न्यायकर्ताले समन्याय, शुद्ध अन्तस्करण, प्राकृतिक न्यायका आधारमा कसूरको मात्रा वा गाम्भिर्यता, घटनाक्रम र कानूनले तोकेको परिधिलाई तुलनात्मकरुपमा अनुपातीक र उचित सन्तुलन (Proportional and Proper Balance) भएको छ छैन ख्याल गरी न्यायीकरुपमा सम्पादन हुनुपर्ने (ने.का.प.२०७३, भदौ, नि.नं. ९६०२, पृष्ठ ९४६) भनि प्रतिपादीत नजीर यो कसूरमा समेत लागू गर्नुपर्ने हुन्छ ।

कुनै चिकित्सकले आफुमा भएको सम्पूर्ण ज्ञान, सीप, साधनश्रोतको उपयोग गरेर पनि विरामीलाई निको पार्न वा बचाउन नसकेको अवस्थामा जरीवाना तिराउनु वा कैद सजाय गर्नु सर्वथा अनुपयुक्त हुन्छ । जाहेरी दरखास्तकै आधारमा डाक्टरलाई पक्राउ गर्न नहुने, मुद्धा चलाउन नपाइने, विशेषज्ञ सहितको अनुसन्धानबाट संकलित ठोस प्रमाणका आधारमा आरोप लगाउनेले आरोप प्रमाणित गर्नु पर्ने लगायतका सिद्धान्तहरुलाई विचार गर्दा सबै डाक्टरहरु जेल जान्छन् भनि प्रचार गर्नु उपयुक्त हुँदैन तर कुनै घटना गंभीर प्रकृतिको छ भने अवस्था अर्कै हुनसक्छ ।

स्वास्थ्य उपचारमा हुने त्रुटी सम्बन्धी विषय जेलमा बन्दीको संख्या वृद्धि गर्ने विषयमात्र होइन, यो समग्र स्वास्थ्य उपचार प्रणालीलाई सुधार गर्ने विषय पनि हो । डाक्टरबाट लापरवाही भएमा फौजदारी मुद्धा चलाई हाल्नु पर्छ भन्ने मात्रै कानूनी उपचारको बाटो होइन, देवानी उपचार अर्थात् क्षतिपूर्तिको माध्यमबाट समेत पीडितका सरोकार सम्बोधन गर्न सकिन्छ, यद्यपी कानूनले समाजमा हुनसक्ने एउटामात्र वास्तविक घटनालाई समेत नजरअन्दाज गर्न मिल्दैन । अतः, डाक्टर महोदयहरुले बिनाकारण कामै छोडेर आन्दोलन गर्नु वा राजनीतिबाट प्रेरीत हुनु भन्दा चिकित्सा क्षेत्रका विज्ञ, समाजशास्त्री, कानूनविद् आदिको छलफलबाट उचित निकास निकाल्नु उपयुक्त हुन्छ ।

वि. सं. २०७४ साल असोजमा संहितालाई संसदबाट पारीत गर्नु अघि चिकित्सक संघसँग छलफल नगरिएको हो भने आगामी दिनमा सरकार र संसदले पनि त्यस्तो गल्ती दोहोरिन दिनु हुँदैन ।

(लेखक अधिवक्ता तथा सामाजिक विकास मन्त्रालय, प्रदेश नं. १ का कानून परामर्शदाता हुन्)

Advertise Expired !

सम्बन्धित समाचारहरु

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै
‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

वीरगञ्ज। पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहँुचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग[...]

वैदेशिक रोजगारीले परिवारमा बिचल्ली
वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

पाल्पा । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी[...]

मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल
मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल

पुरुषलाई मदिरा  नखाउ भनेर सिकाउन कुनै संस्था आउदैनन् ? जति संस्था आए पनि हामी महिलालाई मात्र सिकाउने ? पुरुषले जे गर्दा पनि हुने ? आफूहरू जतिसुकै परिवर्तन भए पनि पुरुषहरु[...]