Sorry, your browser does not support JavaScript! गीतिकाव्य ‘मुनामदन’ नाटकमा - Merodesh.news

गीतिकाव्य ‘मुनामदन’ नाटकमा

काठमाडौँ, १४ भदौ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको प्रख्यात खण्डकाव्य ‘मुनामदन’को कथा नाटकमा हेर्न पाइने भएको छ ।

मुनामदन

खण्डकाव्यलाई आदर्श साहित्य मञ्च विराटनगरले शिल्पी थिएटरमा यही भदौ १३ देखि २६ गतेसम्म मञ्चन गर्दैछ । आफू मोरङ जाँदा त्यहाँका कलाकारको सक्रियतामा त्यहाँ मञ्चन गरिएको देखेपछि काठमाडौँमा पनि यसलाई मञ्चन गर्ने सोच बनाएको निर्देशक सविन कट्टेलले बताए । “स्थानीय प्रतिभालाई बाटो देखाउन मैले यो प्रयास गरेको हुँ ”, उनले भने, “विराटनगरका कलाकारले सुन्दर एक तलाको घर बनाएका थिए, त्यसमा तला थप्ने काममा म प्रयास गर्दैछु ।”

मोफसलका कलाकारमा लुकेर रहेका प्रतिभालाई उजागर गराउने उद्देश्यले आफूले फरक तरिकाले कृतिलाई अघि बढाएको उनको भनाइ छ । ‘मुनामदन’को नाट्य रुपान्तरण तथा संवाद लेखन युवा साहित्यकार कटवाल दीपकले गरेका छन्। नाटकमा मदनको भूमिकामा निर्देशक कट्टेल तथा मुनाको भूमिकामा दीपा पोखरेल छिन।

अन्य कलाकारमा मदनकी आमाको भूमिकामा सुष्मा निरौला, दिदीको भूमिकामा पवित्रा खड्का, ठूलेको भूमिकामा लकेश राई र गगनेको भूमिकामा एन्जन पौडेल हुनुहुनेछ । त्यस्तै सरिता ढुङ्गाना, सञ्जीव राई, जिना राईलगायत कलाकारको भूमिका रहनेछ । पहिलो दिन बुधबार दर्शकको उपस्थिति उल्लेख्य थियो ।

आफ्नो मृत्युअघि देवकोटाले “म मरेपछि मेरा सबै कृति जलाइदिए पनि मुनामदन चाहिँ नजलाउनू” भनेको बताइन्छ । साझा प्रकाशनबाट प्रकाशन हुने कृतिमध्ये धेरै समयदेखि सबभन्दा बढी बिक्ने पुस्तकमा पनि मुनामदन नै पर्छ । ‘हातका मैला सुनका थैला के गर्नु धनले, साग र सिस्नु खाएको बेस आनन्दीमनले’ र ‘क्षेत्रीको छोरो यो पाउ छुन्छ घीनले छुँदैन, मानिस ठूलो दिलले हुन्छ जातले हुँदैन’ जस्ता मनै छुने श्लोक ‘मुनामदन’मा उल्लेख छ ।

खण्डकाव्यको कथा यस्तो छः समाजमा धारो बनाउने आफ्नी आमाको इच्छा पूरा गर्न भोट गएका मदन फर्कंदा बाटामा बिरामी हुन्छन् । सँगै गएका साथीहरुले छाडेपछि उनलाई एक जना भोटेले फेला पारी उपचार गर्न आफ्नो घर ल्याउँछन् । उनको एक साथीले चाहिँ मदन उतै मरिसकेको खबर पठाइसकेको हुन्छ । उपचारपछि मदन घर फर्किँदा उनकी आमा र श्रीमतीको मृत्यु भइसकेको हुन्छ ।

केन्द्रमा मात्र नभएर मोफसलमा पनि सशक्त कलाकार रहेको उदाहरण दिन नाटकलाई काठमाडौँमा मञ्चन गर्न लागिएको आयोजक विराट आदर्श साहित्य मञ्चका प्रमुख सल्लाहकार मीनकुमार नवोदितले जानकारी दिनुभयो । शनिबारबाहेक साँझ ५ः३० बजे मञ्चन गरिने नाटक शनिबार भने अतिरिक्त अपराह्न १ बजे पनि देखाइनेछ ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

शिक्षादीप कलेजमा कविता प्रतियोगिता
शिक्षादीप कलेजमा कविता प्रतियोगिता

विराटनगर । विराटनगरस्थित शिक्षादीप कलेजको आयोजनामा बुधबार खुल्ला कविता प्रतियोगिता सम्पन्न भएको छ । कलेजमा अध्ययनरत विद्यार्थीहरूबीच भएको प्रतियोगितामा मनिषा नेपाल ‘आमा अनि उसकी सन्तान’ शीर्षकको कविता वाचन गरेर प्रथम भइन्[...]

पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार
पौडेललाई सुदीश निरौला स्मृति साहित्य पुरस्कार

विराटनगर । पूर्वाञ्चल साहित्य प्रतिष्ठान विराटनगरबाट प्रदान गरिने यस वर्षको सुदीश निरौला स्मृति साहित्य पुरस्कारबाट युवा समालोचक, अनुवादक, कवि, आख्यानकार महेश पौडेललाई पुरस्कृत गरिने भएको छ । प्रतिष्ठानका अध्यक्ष प्राज्ञ[...]

भक्तपुरमा जेसम साहित्य यात्रा 
भक्तपुरमा जेसम साहित्य यात्रा 

भक्तपुर।  सूर्यविनायक नगरपालिकाको गाम्चा एवं अनन्तलिङ्गेश्वरको डाँडामा साहित्यकार र कालाकारले आ–आफ्नो सिर्जना प्रस्तुत गरेका छन् । जेसम साहित्य यात्राको तेस्रो शृङ्खलाअन्तर्गत भक्तपुरको गाम्चामा शनिबार कविले कविता र कलाकारले चित्रहरूका माध्यमबाट[...]