विराटनगर, २७ साउन। रचनात्मक र सकारात्मक सन्देस दिन युवाहरुले विराटनगरमा स्ट्रीट आर्ट अभियान शुरु गरेका छन ।
युवा दिवसको अवसरमा हामी युवा नामक संस्थाले स्ट्रीट आर्ट अभियान शुरु गरेको हो । अभियान अन्र्तगत विराटनगर–२ स्थित श्री बिराटमहेन्द्र माध्यमिक विद्यालयको कम्पाउण्ड वालमा सकारात्मक सन्देस दिने चित्र पेन्टीङ गरिएको छ । सो क्रममा मुट्ठीभित्र गुलाफको फुलको आर्ट बनाइएको छ । सप्तरंगी रंगको प्रयोग गरि बनाइएको चित्रमा चराचुरुंगी उडिरहेको समेत देखाइएको छ ।
हामी युवाकालागि काठमाण्डौबाट आएका आर्टिस्टद्वय बिमल बोलाके र बिनय हुमागाईले चित्र बनाएका हुन । मुट्ठीले युवाहरुको एकता र गुलाफको फुलले युवाहरु भित्रको कोमलताको सकारात्क सन्देश दिने हामी युवाका अध्यक्ष दिपेश धिमालले जानकारी दिए । उडिरहेको चराले स्वतन्त्रता र सप्तरंगी रंगले विविधताको संकेत दिने उनको भनाई छ । विराटनगरमा पहिलो पटक स्ट्रीट आर्टबाट सचेतना र सकारात्क सन्देश दिने कार्यको शुरुआत गरिएको जानकारी दिंदै कार्यक्रम संयोजक अनुपमा बास्तोलाले नगरक्षेत्रका थप सार्वजनिक स्थानहरुमा आर्ट गरिने बताए ।
विश्वका अनेकौं मुलुकहरुमा सकारात्मक सन्देशकालागि स्ट्रीट आर्टको प्रयोग गरिने गरेको छ ।