Sorry, your browser does not support JavaScript! विराटनगरमा स्वास्थ्य सेवाको अवसर र चुनौति : डा. नवराज सुब्बा - Merodesh.news

विराटनगरमा स्वास्थ्य सेवाको अवसर र चुनौति : डा. नवराज सुब्बा

विश्व स्वास्थ्य संगठनले दिएको परिभाषा अनुसार स्वास्थ्य भनेको रोग नलाग्नु मात्र होइन, सारीरिक, मानसिक तथा सामाजिक रूपमा तन्दुरूस्त हुनु हो । यो परिभाषाले मानिसको व्यक्तिगत स्वास्थ्य स्थिति देखि सामाजिक अर्थात् समुदायिक स्वास्थ्यस्थिति समेटेको छ । व्यक्तिको स्वास्थ्य एक्लैले चाहेर मात्र सदा स्वस्थ रहन सम्भव हुँदैन ।

उसको वरिपरिको समाज, वातावरण, हावापानी, कृषिउपज, बानीव्यहोरा, सम्पर्क, जोखिमयुक्त कार्यशैली, वंशानुगत देखि अन्य धेरै कुराहरूले व्यक्तिको स्वास्थ्यलाई निर्धारण गर्दछ । पानी, खाना, हावाबाट सर्ने रोगहरू, लामखुट्टे, झिंगा आदिबाट सर्ने रोगहरू, पशुपंक्षीबाट सर्ने रोगहरू, संसर्गबाट सर्ने एवम् विभिन्न सरूवा रोगहरू सामुदायिक पहल बिना नियन्त्रण हुन असम्भव छ ।

यति मात्र होइन सडक यातायातमा व्यवस्थापनको कमी वा लापरवाहीबाट हुने सडक दुर्घटना, तथा मानसिक तनाव, चिन्ता र परामर्शको अभावमा हुन सक्ने लागुपदार्थ र मादकपदार्थको प्रयोग जस्ता व्यवहार, जीवनशैली पनि जनस्वास्थ्यलाई प्रभाव पार्ने कारकहरू हुन् ।

विराटनगर मोरङ जिल्लाको सदरमुकाम मात्र नभएर यो पूर्वी नेपालको एक महत्वपूर्ण स्वास्थ्योपचार केन्द्र पनि हो । अन्यत्र उपचार गर्न नसकिएका बिरामी रेफर गरि उपचार गरिने यो शहर आज एक प्रेषण केन्द्र अर्थात् रेफरल सेन्टर बनेको छ । हवाई तथा सडक यातायातले जोडिएको कारण पहाडी र तराई जिल्लाहरूबाट यहाँ आउने बिरामीको चाप छ ।

यति मात्र नभएर विराटनगरमा संचालित आँखा अस्पतालहरूमा छिमेकी मुलुकहरू भारत, बंगलादेशबाट अत्यधिक बिरामी आउने गर्दछन् । २०६८ सालको जनगणना अनुसार विराटनगरको जनसंख्या २ लाख २ हजार ६१ थियो । यहाँ आधुनिक चिकित्सा प्रदान गर्ने सरकारी तर्फ एक अञ्चल अस्पताल, एक प्राथमिक स्वास्थ्य केन्द्र तथा नगरपालिकाद्वारा संचालित शहरी स्वास्थ्य क्लिनिक छन् ।

निजीतर्फ २ मेडिकल कलेज लगायत २६ भन्द बढी निजी स्वास्थ्य संस्था संचालित छन् जहाँबाट विरामीले उच्चस्तरीय सेवा समेत प्राप्त गरेका छन् । यस अतिरिक्त सरकारी तर्फ एक आयुर्वेद स्वास्थ्य केन्द्र, गैरसरकारी तर्फ नेपाल परिवार नियोजन संघ, मेरी स्टोप्स, एनएलआर र नेपाल क्षयरोग निवरण संघ नाटा संचालित छन् ।

निजीतर्फ आयुर्वेद तथा होमियोपेथिक क्लिनिकहरूको सेवा पनि नगरमा उपलब्ध छ । हाल आएर प्राकृतिक चिकित्सा तथा बैकल्पिक चिकित्सा सेवा प्रदान गर्ने केन्द्रहरू पनि खोलिएका छन् । निजी क्षेत्रमा प्रसस्त क्लिनिक, औषधी पसल, एक्सरे, ल्याब पनि संचालित छन् । यसमा बेलाबेला सेवाको गुणस्तर तथा सन्तुष्टिको बारेमा प्रश्न उठ्ने गरेता पनि स्वास्थ्य सेवाको मागलाई पूरा गर्न सरकारी, गैरसरकारी तथा निजी स्वास्थ्य संस्थाहरूले महत्वपूर्ण भूमिका खेलेका छन् ।

नगर क्षेत्रमा स्वास्थ्य सेवा प्रदान गर्ने संस्थाहरू धेरै भए ता पनि जनस्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूको संख्या भने न्यून छ । परिवार नियोजन सेवा, बच्चालाई खोप लगाउने सेवा, बच्चाको तौल लिने वा पोषण परामर्श सेवा दिने तथा आमालाई पूर्व प्रसूति सेवा, उत्तरप्रसूति सेवा दिने सरकारी तर्फ कोशी अंचल अस्पताल, रानी प्राथमिक स्वास्थ्य केन्द्र, गैरसरकारी तर्फ नेपाल परिवार नियोजन संघ, मेरी स्टोप्स क्लिनिक तथा निजी तर्फ न्यूरो अस्पताल, विराटनगर अस्पताल, नोबेल अस्पताल, अबध नारायण अस्पताल आदि रहेका छन् ।

सुत्केरी गराउँदा हाल कोशी अंचल अस्पताल र विरानगर अस्पतालमा निशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने तथा यातायात खर्च समेत उपलब्ध गराउने व्यवस्था सरकारले मिलाएको छ । क्षयरोगीलाई निःशुल्क उपचार गर्नको लागि नाटा क्रियाशील छ । यसले जटिल क्षयरोगीलाई होस्टेलमा समेत राखेर उपचार गर्छ ।

उपचारका क्रममा इच्छुकलाई आयआर्जनका व्यवसायिक सीप प्रदान पनि गरिएको छ । कुष्ठरोगीहरूको उपचारको लागि एन.एल.आर नामक संस्था कोशी अंचल अस्पतालको परिशरमा अवस्थित छ । यसले समुदायका स्वास्थ्य संस्थाहरूमा निको हुन नसकेका कुष्ठरोगका जटिल स्थितिको उपचार गर्ने तथा अंगभंग भएका बिरामीको पुनस्र्थापना गर्ने कार्यमा महत्वपूर्ण काम गरेको छ ।

एच.आई.भी. एड्स नियन्त्रणतर्फ जिल्ला विकास समिति मोरङले जिल्ला स्तरमा पनि थप बजेट र कार्यक्रमको व्यवस्था गरेको छ । कोशी अंचल अस्पतालमा एचआईभी एड्स संक्रमितको औषधी उपचार तथा परामर्श सेवाको व्यवस्था गरिएको छ । बिभिन्न गैरसरकारी संस्थाहरू समन्वय गर्नमा जिल्ला जनस्वास्थ्य कार्यालयले भूमिका खेलेको छ । लागुपदार्थ दुव्र्यसनीहरूको लागि आवश्यक पर्ने सुधार गृह तथा पुनस्र्थापना केन्द्रको व्यवस्था गैरसरकारी संस्थाहरुले गरेका छन् ।

हाल विराटनगरमा स्पर्श नेपाल, रिचमण्ड फेलोसिप, जीवनदृष्टि सामुदायिक पुनस्र्थापना केन्द्र, न्यू लाईफ फेलोशीप, नवज्योति पुनस्र्थापना, स्वतन्त्र नेपाल आदि संस्थाहरूले दुव्र्यसनीहरूलाई सुधार तथा पुनस्र्थापना सेवा प्रदान गरेका छन् । औलो र कालाज्वरको औषधी सरकारी स्वास्थ्य संस्थामा निःशुल्क पाइन्छ । औलो नियन्त्रित भएता पनि गरिबहरूको रोग भनेर चिनिने कालाज्वरबाट अझै मृत्यु हुने गरेको स्थिति छ ।

विराटनगरमा बालबालिकालाई खोप लगाउने दर, स्वास्थ्य संस्थामा प्रसूती गराउने दर उच्च देखिएता पनि जनस्वास्थ्यको उपयोगी अभियान भिटामीन ए, जुकाको औषधी खुवाउने दर, हात्तीपाइलेरोग विरूद्धको औषधी खाने दर भने न्यून छ । नगरको जनस्वास्थ्य स्थितिलाई सुधार्न विराटनगर उपमहानगरपालिका सक्रिय छ ।

नगरमा क्षयरोग नियन्त्रणको लागि संचालित डट्स केन्द्र, खोप केन्द्रमा महिला स्वास्थ्य स्वयंसेविकाहरूले महत्वपूर्ण भूमिका खेलेका छन् । विराटनगरमा विरामीको स्वास्थोपचार मात्र नभएर विभिन्न स्तरका स्वास्थ्य जनशक्ति उत्पादन गर्ने मेडिकल कलेजहरू, नर्सिङ कलेज, टेक्नकल इन्स्टिच्यूटहरू संचालित छन् । त्रिविवि नर्सिङ कलेज, नोबेल मेडिकल कलेज, कोशी हेल्थ इन्स्टिच्यूट, विराट हेल्थ इन्स्टिच्यूट, न्यूरो हेल्थ इन्स्टिच्यूट, नेशनल इन्स्टिच्यूट अफ टेक्नोलोजी आदिबाट वर्षेनी चिकित्सक, नर्स, प्यारामेडिकल तथा जनस्वास्थ्यकर्मीहरू उल्लेख्य संख्यामा उत्पादन भएका छन् ।

यहाँ हाल विराट मेडिकल कलेज पनि संचालनमा आएको छ । यसका विद्यार्थीहरूले विराटनगरका अस्पतालहरू, अंचल अस्पताल, जिल्ला जनस्वास्थ्य अन्तर्गतका स्वास्थ्य संस्थाहरूमा व्यवहारिक ज्ञान इन्टर्म हासिल गर्दछन् ।

नोबेल मेडिकल कलेज, न्यूरो अस्पताल आदिमा कार्यरत विशेषज्ञहरूले स्वास्थ्यका विभिन्न विषयमा अध्ययन अनुसन्धान गरि वैज्ञानिक लेख र प्रतिवेदन लेखेका छन् । होमियोपैथी चिकित्सातर्फ चिकित्सकहरूले अध्ययन अनुसंधानको केश रिपोर्ट बेला बेला सार्वजनिक गर्ने गरेका छन् । होमियोपैथी चिकित्सकहरुबाट सुलभ दरमा स्वास्थ्य सेवा प्रदान गरिएको विरामीहरूको भनाई पाइन्छ ।

कतिपय दीर्घरोगमा उपयुक्त मानिएको तथा अवाञ्छित असरमुक्त मानिने आयुर्वेद पद्धतिमा पनि आजकल विरामीहरूको झुकाव निकै बढेको पाइन्छ । आधुनिक चिकित्सा सेवा अत्यन्त महङ्गो भएको, अवाञ्छित असर वा साइड इफेक्ट धेरै भएको वा रोग निको नभएर यदि कोही विरामी बैकल्पिक चिकित्साको खोजीमा रहेको भए उक्त सेवा पनि विराटनगरमा उपलब्ध छ ।

आज विरामी पर्दा कता जाने कसलाई देखाउने एउटा समस्या छ । विरामीलाई सही सूचनाको अभावमा धेरै पैसा र समयको खर्च भएको छ । विराटनगरमा गएर उपचार हुन्छ, यहाँ राम्रा डाक्टर तथा अस्पताल छन् भन्ने सुनेका हुन्छन् तर सही ठाउँ कहाँ हो पत्ता पाउन नसकेर वा भीडभाडको कारणले सही ठाउँमा नपुगेर वा नपु-याइएर आज गाउँघरबाट आउने सोझासाझा, गरिब मानिसले धेरै दुःख पाएका छन् ।

मोरङकै कुनै गाउँबाट निशुल्क उपचार हुने क्षयरोग, कुष्ठरोग, औलो, कालाज्वर भएका विरामीहरू विराटनगरका निजी क्लिनिका चारपाँच हजार खर्च गराएर अथवा बोकेको खर्च सकिए पछि अब सरकारी अस्पतालमा जाऊ भनेर पठाएका थुप्रै दृष्टान्त छन् । आज कुन कुन रोगको औषधी कहाँ निशुल्क पाइन्छ भन्ने कुराको जानकारी सबैलाई छैन । जनचेतनाको कमी एक ठूलो समस्या हो ।

अर्कातिर स्वास्थ्य संस्थामा विरामीको चाप र विरामीलाई गरिने अमैत्रीपूर्ण व्यवहारका कारण जनताको दृष्टिमा अस्पतालको सेवाको गुणस्तर र विश्वसनीयतामा कमि आएको देखिन्छ । आज निजी क्षेत्रमा स्वास्थ्यमा अस्वस्थ प्रतिस्पर्धा उत्तिकै झाँङ्गिएको देखिन्छ ।

यसमा रिक्सावालाको अत्यधिक प्रयोग गरिएको गुनाशो सुनिन्छ । फलानो डाक्टरकोमा जाने त्यहाँ लैजाऊ भनेको अवस्थामा सोझा साझा गाउँलेलाइ अन्यत्रै लगेर ठगिने गरिएको घटना पनि बारम्बार सुनिन्छ । विरामी लगेबापत रिक्सावाल, एम्बुलेन्स चालक तथा रेफर गरेबापत स्वास्थ्यकर्मीलाई दिने भन्ने गरिएको कमिशनको अभ्यासले पनि स्वास्थ्य सेवाको गुणस्तर र विश्वसनीयतामा ठेस लागेको छ ।

यसैले आज जो कोहीलाई अस्पताल जानु प¥यो भने निकै सोच्ने समय भएको छ । अस्पतालको सेवा महङ्गो, झन्झटिलो भएको सर्वत्र गुनासो सुनिन्छ । कोही धेरै ठाउँ हण्डर खाए पछि मात्र सही उपचार पाएको गुनासो गर्छन् । धेरैलाई एक सामान्य रोगमा पनि धेरै खर्च हुने त्रास छ । तर जे भए पनि हुनेखानेले आज विराटनगरमा स्वास्थ्य सेवा पाएका छन् । तर हुँदा खाने गरिब असहायलाई सरकारी होस् वा निजी अस्पतालमा छुट्याइएको निःशुल्क सेवाको सुबिधाबाट लक्षित बास्तविक गरिब जनता बञ्चित छन् ।

हुनेखाने टाठाबाठाले नै उनीहरूको भाग खोसि दिएको अवस्था छ । यसैले सोझासाझा तथा गरिब अस्पतालको ढोकामा पस्न हिम्मत गर्दैनन्, पसि हाले पनि सेवा नलिई फर्कन्छन् । उनीहरू बोल्न जान्दैनन् भाषाको समस्या छ । भन्न सक्दैनन् विश्वासमा कमी छ । आज उनीहरूका लागि बोलि दिने वा सुनि दिने कोही हुँदैनन् । घर फर्केर परम्परागत झारफूक गरेर भाग्यमा भर पर्नु बाहेक यिनको विकल्प छैन । यो यथार्थप्रति स्वयम् स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्था व्यवस्थापनले संवेदनशील हुन जरूरी छ ।

स्वास्थ्य सेवा व्यवस्थापनमा अझै धेरै गर्न बाँकी छन् । पहिलो कुरो त स्वास्थ्य संस्थाहरूको मापदण्ड बमोजिमको गुणस्तरीय सेवा सुनिश्चित गर्नु नै सरकारी तथा निजी क्षेत्रको ठूलो चूनौती हो । विरामीको स्वास्थ्य अधिकारलाई केन्द्रमा राखेर सबैले आ–आफ्नो दायित्व पूरा गरेमा यो कार्य असम्भव पनि छैन । यसको लागि विरामी, उपभोक्ता, अधिकारकर्मी तथा संचारकर्मी सदा चनाखो रहनु पर्ने हुन्छ । दोस्रो चुनौतीको रूपमा अस्पतालजन्य फोहोरमैलाको व्यवस्थापनलाई लिन सकिन्छ ।

नगरपालिकाको फोहोरमैलासंगै अस्पतालजन्य फोहोर मैलाको पनि बिसर्जन गर्दा यसले जनस्वास्थ्यमा ठूलो जोखिम निम्त्याएको छ । यसबाट विराटनगरमा कुनै पनि बेला झाडापखाला, टाइफाइड, हेपाटाइटिस तथा जन्डिस वा अन्य कुनै महामारी फैलन सक्ने संभावना छ । ढल तथा नालाको सरसफाईमा ध्यान नपुग्दा लामखुट्टे, झिंगा, किराहरूको बृद्धि हुने भएकाले यसबाट किटजन्य रोगहरू जस्तै औलो, हात्तीपाइले, कालाज्वर, डेंगु आदि रोगमा नियन्त्रणमा समस्या छ ।

विराटनगरलाई स्वास्थ्य क्षेत्रको हब बनाउने सपना देखिए पनि नदेखिए पनि यो बन्दै गएको छ । अस्पतालहरू खोलिए पछि विरामीहरू मात्र आउँदैनन् विरामीसंगै रोग, रोगका किटाणु र विकार पनि विराटनगर भित्रन्छन् । विरामी स्वयम्, विरामीको रगत, खकार, दिशा, पिसाव, अंगप्रत्यंग आदि रोग फैलाउन पर्याप्त हुन्छन् ।

अस्पतालजन्य फोहोरमैलाको सही विसर्जन नगरिएमा हामीले नचाहेको स्वास्थ्य समस्याहरू बेहोर्न नगरवासी बाध्य हुनुपर्दछ । समथर भूबनौट भएको विराटनगरमा वर्षामा पानी बगेर जाने निकासको राम्रो प्रबन्ध भइनसकेको अझै पनि ढल, नालाको उचित प्रबन्ध नभएको अवस्थामा विराटनगर विभिन्न सरुवा रोगहरूको जोखिममा छ ।

रोगका संभावित कारणहरूलाई सम्बोधन नगरे बिरामी मात्र उपचार गरेर स्वस्थ नगर सम्भव हुँदैन । स्वास्थ्य सेवा व्यवस्थापन प्रणालीमा रोग लाग्न नै नदिने वा रोकथाम गर्नु नै उत्तम उपाय मानिन्छ । यसको साथै स्वास्थ्य सेवालाई बजारमुखी मात्र नभई सेवामुखी बनाउँदै लैजानु आजको आवश्यकता हो ।

Advertise Expired !

सम्बन्धित समाचारहरु

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै
‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

वीरगञ्ज। पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहँुचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग[...]

वैदेशिक रोजगारीले परिवारमा बिचल्ली
वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

पाल्पा । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी[...]

मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल
मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल

पुरुषलाई मदिरा  नखाउ भनेर सिकाउन कुनै संस्था आउदैनन् ? जति संस्था आए पनि हामी महिलालाई मात्र सिकाउने ? पुरुषले जे गर्दा पनि हुने ? आफूहरू जतिसुकै परिवर्तन भए पनि पुरुषहरु[...]