Sorry, your browser does not support JavaScript! लागुऔषध समस्या र रोकथामका उपायहरु   - Merodesh.news

लागुऔषध समस्या र रोकथामका उपायहरु  

  • गज्जब मज्जा हुन्छ भने । साथीभाइसग स्कुलमै लिन थाले धरानका सुदीप (नाम परिवर्तित)ले डाइजेपाम र कोरेक्स ।
  • लहलहैमा  सूई लिन थालियो ….. अब निल्नु न ओकल्नु भएको छ यो बानी ।
  • दुखाइमा चिकित्सकले सुझाएको, अनिद्रामा दवाइ पसलेले दिएको वा खोकीमा अरुले भनेको दवाइमा लत पर्नेहरु हामीबीच धेरै भेट्टिन्छन् ।
  • परिवारले थाहा पाए बर्बाद हुन्छ । बोर्डर धाउनुपर्छ, कतिपल्ट समातिएको छु, एचआईभि नै भैसकेको छ यो सुई लिने बानीले गर्दा ।
  • थाहा छ बिगार्छ; तै पनि नलिई भा’छैन … के गर्ने?

मनमस्तिष्कका कामगराइमा कुनै हिसाबले असर पार्ने कुनैपनि चीज, रसायन वा बस्तुलाई मादक, नशालु वा लागु पदार्थ (psychoactive substance/ drug) भनिन्छ । मनमस्तिष्कमा पार्ने प्रतक्ष्य असरका आधारमा यी पदार्थहरुलाई मूलरुपमा उत्तेजना (stimulants) (जस्तैः निकोटिन, क्याफिन र कोकेन); उदासिनता (depressants) (बेन्जोडाइजेपिन, ओपियट), र आभास भ्रम गराउने (hallucinogens) (एलएसडी, गाँजा) भनी वर्गीकरण गरिन्छ ।

लागुऔषध

धनरत्न  शाक्य, वरिष्ठ स्नायु, दुव्र्यसन र मनोरोग विशेषज्ञ तथा एडिशनल प्रोफेसर

लागु वा नशालु पदार्थका रुपमा विश्वमा प्रचलनमा रहेका र ओसारपसार गरिने मुख्य लागुऔषधीहरुमा गाँजा, एम्फेटामिन, एक्सतासी, ओपियम, कोकेन मुख्य हुन् । हामीकहाँ ओपियटबाट बन्ने केहि दबाइहरु; जस्तैः खोकीमा कोरेक्स, दुखाईमा कोडिन वा पेथिडिन, निन्द्राको लागि फेनार्गन वा बेन्जोडाइजेपिन; छट्पटीमा बेन्जोडाइजेपिन आदि उपचारको क्रममा प्रयोग गरिन्छ ।

परिदृश्यमा उधृत भएझैं चिकित्सकको सल्लाहमा औषधीको रुपमा यी पदार्थहरुको प्रयोग शुरु भई लगातार गर्नेहरु पनि धेरै पाइन्छन् । यी पदार्थहरुमा सामाजिक र कानूनी नजरमा, जाँडरक्सि, चुरोट जस्तै ग्राह््य वा स्वीकृत तथा हेरोइन, कोकेन जस्तै अग्राह््य कोटिका, कतिपय भने डेन्ड्राइट्स, जुत्ता पालिस जस्ता हामी वरिपरिका बस्तुहरु पनि पर्दछन् ।

लागुऔषध समस्याको व्यापकता:

विश्वभरिमा करीब १२ करोड मानिस कडा लागुऔषधको र त्योभन्दा बढी गाँजाका प्रयोगकर्ता रहेको तथ्यांक छ । संयुक्त राज्य अमेरिकाको यौटा तथ्यांकले यस्ता पदार्थबाट पैदा हुने लतका कारण प्रतक्ष्य रुपमा वर्षेणी ४८४ अरब डलर खर्च हुने गरेको देखाउँछ जुन मधुमेह र अर्वुदरोगका कारण हुने खर्चभन्दा धेरै हो ।

नेपालमा उपलव्ध सार्वजनिक यौटा सरकारी तथ्यांक अनुसार ९१ हजार ५३४ लागुऔषधीको प्रयोगकर्ता रहेकाछन् । यो संख्या हरेक वर्ष बढ्दै गएको र प्रभावकारी उपाय व्यवस्थापन गर्न नसकिएमा अरु तिब्र गतिमा बढ्दैजाने देखिन्छ । यसका करीब आधाजति सुई लिने प्रयोगकर्ता तथा तिनमा करीब ६० प्रतिशतलाई एचआईभि एड्स र हेपाटाइटिस वीको संक्रमण हुने अनुमान गरिएको छ ।

लागुऔषधका असरहरु :

सामान्यतः यस्ता पदार्थहरु अरुको देखासिकी, रमाइलो, कौतुहल, सामाजिक माहोल, सामाजिकीकरण, टोनिक, तनावनासक आदि रुपमा शुरु हुन्छ । यस्ता पदार्थको क्षणिक र तत्कालको सुखद र छली असरका कारण व्यक्ति फेरिफेरि प्रयोग गर्नपुग्छ ।

यसरी बारम्बार सेवन गर्दा स्नायुकोषहरुमा आउने परिवर्तनले गर्दा एकपछि अरु यस्ता असरहरु उत्पन्न हुन्छन् जसले गर्दा पछि प्रतिकूल असरहरुका बाबजूद व्यक्ति यस्ता पदार्थको प्रयोग जारी राखिरहन्छन् परिदृश्यमा जस्तै ।

यस्ता पदार्थहरुको बारम्बार प्रयोग भएपछि पहिलेभन्दा बढी मात्रा–डोजको आवश्यकता पर्ने (tolerance) र डोज नपुग्दा वा रोक्दा छटपटी, अनिन्द्रा वा यस्तै असरहरु उत्पन्न (withdrawals)हुने र पटकपटक प्रयोग गर्न बाध्य (compulsive use) हुनेहुन्छ । पदार्थ अनुसार त्यस्ता गुणहरुको मात्रा फरक पर्दछ । ओपियड, बेन्जोडाइजेपाम जस्ता पदार्थ तुलनात्मक रुपमा कम र छोटो समय मात्र प्रयोग गरेपनि यी असरहरु आइनेगर्छ ।

औषधीजन्य नै भएपनि यी पदार्थहरुको नियन्त्रित र जथाभावी प्रयोगले समस्याको चक्रव्यूह नै सिर्जना हुन्छ जसबाट उम्किन व्यक्तिलाई उपचार बिना हम्मेहम्मे नै पर्नेगर्छ परिदृश्यमा देखिएजस्तै । शुरुमा जुनसुकै परिस्थिति र प्रयोजनका लागि प्रयोग गर्न थालेको भएपनि कुनबेला, कसलाई र कसरी पछि गएर समस्या, लत, दुव्र्यसनमा बदलिन्छ भन्नै गाहारो हुन्छ ।

बारम्बार र लामो समयको प्रयोगबाट व्यक्तिको परिवार बिखण्डित हुनपुग्छ, वृत्तिविकास रोकिन्छ, व्यवसायमा अवरोध हुन्छ, सामाजिक प्रतिष्ठा धमिलिन्छ, नैतिक पतन हुन्छ, अपराध बढ्छ, दुर्घटना र कानूनी कारवाहीको शिकार भइन्छ । साथमा, विभिन्न मानसिक, शारिरीक रोगहरु उत्पन्न हुन्छन् ।

यस्ता धेरै प्रयोगकर्ताहरुमा उदासिनता, छटपटी, पागलपन वा व्यक्तित्वका गडबडीहरु लगायत विभिन्न मानसिक लक्षण र रोगहरु उत्पन्न हुन्छन् । सुईबाट असुरक्षित किसिमले जथाभावी प्रयोग गर्दा एचआईभि एड्स, हेपाटाइटिस आदि रोगहरु महामारीकै रुपमा फैलिरहेछ ।

लागुऔषधका समस्या र दुव्र्यसनः

सामान्यतया यस्तो पदार्थ एक वा बढी पटक अत्याधिक सेवन गरेर मात लागेको अवस्था (intoxication) सम्म पुग्नु नै समस्याको शुरुवाटको रुपमा लिनसकिन्छ । यस्ता पदार्थको सेवनपछि शारिरीक (जस्तैः टाउको भारी, पेटमा दर्द), मानसिक (जस्तैः छटपटी, अनिन्द्रा, दिकदारी, बिस्मृति), सुरक्षाको बेवास्ता (जस्तैः मात् लागेको अवस्थामा पनि ड्राइभिङ गर्नु), चोटपटक वा कानूनी कारवाही जस्ता नराम्रा असर पैदा भएको अवस्था (harmful use) अझ अरु जटिल हो ।

यस्ता प्रतिकूल असर उत्पन्न भइसकेको स्थितिमा पनि बारम्बार यस्ता चिजको बिना डाक्टरी प्रेस्कृप्सन प्रयोग गर्नु (substance abuse) झन् त्यो चक्रव्यूहको अर्को चरण मानिन्छ । गएको वर्ष कम्तिमा एक महिना यदि कसैमा, शारिरीक वा मानसिक असरका बावजूद, पहिलेभन्दा ज्यादा डोजमा बिहानैदेखि वा सामान्यतः यस्ता पदार्थ प्रयोग गर्न बर्जित स्थानमा पनि प्रयोग गरेको छ, तल्तल् आफ्नो बसमा छैन र प्रयोग नगर्दा बेचैनी वा यस्तै असरहरु देखा परेको छ भने, यो अवस्था आफैमा एक गम्भीर बिमारी हो ।

यस अवस्थामा व्यक्तिको मन, तन र धन सबै यस्ता पदार्थको सवेन, त्यसको प्राप्ति र सेवनको प्रतिकूल असर हटाउने दिशातिर सम्पूर्ण रुपमा परिलक्षित हुनेगर्छ । नसासेवनको चक्रव्यूहमा यो अवस्था बढो जटिल विन्दुको रुपमा लिइन्छ र यसलाई लत वा दुव्र्यसन (dependence) भनिन्छ ।

यसरी दुव्र्यसन भएको व्यक्तिले विभिन्न स्थितिमा यस्ता पदार्थको प्रयोग कम गर्दा वा रोक्दा बेचैनी वा सिक हुने मात्र होइन, बेहोस भई काम्ने, मान्छे नचिन्ने जस्ता जटिल अवस्था पनि आइपर्छन् र कतिपय व्यक्तिको यस्तोबेला उपचारका बावजूद ज्यान पनि जानसक्छ ।

रोकथामका उपायहरु :

व्यक्ति, परिवार, समाज सबै नै सचेत भएर यो समस्याको रोकथाम गर्ने, समस्या भएमा उपचार गर्ने र असर कम गर्नेतिर लाग्न जरुरी छ । यस समस्या कम गर्नका लागि प्राथमिक रोकथामका उपायहरु आवश्यक हुन्छन्, जस्तैः स्कुल, क्याम्पस र सबैतिर यसबारे जनचेतना जगाउने, यसको सेवन गर्दै नगर्ने, गर्नेहरुको संगतबाट आफू र विशेषतः बच्चा र किशोरहरुलाई टाढा राख्ने, बालबालिकाहरुको अगाडि अभिभावकले यसको सेवन नगर्ने, सुर्ती वा गाँजा वा यस्ता चीजको सट्टा अरु खेती गर्ने, विज्ञापन र चलचित्रमा यसलाई बढावा हुने सामग्रीमा रोक लगाउने, यसको उत्पादन र प्रयोगलाई सामाजिक र कानुनी रुपमै निरुत्साहित पार्ने ।

समाजमा पनि लागुऔषधी मुक्त वातावरणको लागि सबैबाट, सधैं र सबैतिर जागरण अभियानको जरुरत छ । चिकित्सक र बिरामीहरुले पनि यस्ता दवाइहरुको प्रयोगमा विशेष साबधानी अपनाउनु पर्ने हुन्छ । नितान्त आवश्यक पर्दा चिकित्सकको निगरानीमा, त्यो पनि छोटो समयको लागि मात्र प्रयोग गर्नुपर्छ ।

सेवन गर्नेले छाड्ने तथा लत बसेको भए व्यक्ति, परिवार र साथीभाईले यसको उपाय उपचार गर्नेतिर लाग्नुपर्छ । सरकारले यसको उत्पादन, विक्रिवितरण, ओसारपसार र प्रयोगसम्बन्धी नीतिनियम कडाईका साथ लागु गर्न र रोकथामका उपायहरु प्रभावकारी ढंगले कार्यान्वयनमा ल्याउन जरुरी भएकोछ ।

लागुऔषध समस्याको उपचार :

यी विभिन्न पदार्थका प्रतक्ष्य असर, सेवनकर्ता र उसको वस्तुस्थितिमा आधारित विविध पक्षहरुलाई ध्यानमा राखी यस समस्याको विश्लेषण र निदान गरिनुपर्छ । यी तत्वहरु यो समस्यालाई बढावा दिनमा एकआपसमा यति सबल हुन्छन् कि त्यो चक्रव्यूह तोड्न प्रयोगकर्तालाई गाहारो पर्छ ।

व्यक्तिमा समस्याजनक हिसाबले नै यस्ता पदार्थको लत वा बानी वा दुव्र्यसन भएको स्थितिमा उपचारको आवश्यकता हुन्छ । सामाजिक र मनोवैज्ञानिक व्यवस्थापनको पनि साथमा महत्व रहन्छ । यी एक आपसमा प्रतिश्पर्धात्मक अंश नभई परिपूरक हन् । उपचार बिनाको पुनस्र्थापना र पुनस्र्थापना बिनाको उपचार प्रक्रिया अधुरो हुन्छ । र, उपचार बिना बिरलै मात्र यी पदार्थको अम्मल दिगो हिसाबले छाड्नसक्ने हुन्छन् ।

हरेक व्यक्तिको समस्याको प्रकृति, गम्भीरता र जटिलता अनुसार सुहाउँदो उपचार पद्धति अबलम्बन गर्दा फलदायी हुनेगर्छ । कारक तत्वहरुको पहिचान गरी उपयुक्त विधिहरुको चयन गर्न, यसबारे सहि जानकारी लिन र फेरिफेरि प्रयोग गरिने उच्च खतराका परिस्थिति चिनेर उपायहरु अबलम्बन गर्न मनोचिकित्सासेवा उपयोगी हुन्छ । यस्ता अधिकांश प्रयोगकर्तामा साथै हुने अरु शारिरीक वा मानसिक समस्याहरुको उपचार गर्दा लागुऔषधीको अम्मल छाड्न ठूलो सहयोग पुग्छ ।

यसका अम्मलीहरुले पहिले त यसबारेमा सहि जानकारी लिनुपर्छ । यसका नकारात्मक असरबारे बुझ्दाबुझ्दै पनि धेरै मानिसहरु यसको प्रयोग गर्न बाध्य रहन्छन् । व्यक्ति, परिवारजन, साथीभाई, सहकर्मि, चिकित्सक सबैले यो अम्मल छाड्न उत्साह जगाउने, आवश्यक सरसल्लाह, सहयोग जुटाउने र उपचारको वातावरण बनाउन सघाउनुपर्ने हुन्छ ।

विभिन्न मनोवैज्ञानिक र सामाजिक विधिहरुमा यस्ता अम्मलदेखि टाढिन, खतराजन्य परिस्थिति सामना गर्न, मन सकारात्मक बनाइराख्न र सामाजिक सञ्जाल कायम राख्न सघाइन्छ ।  लागुऔषधको दुव्र्यसनका विभिन्न औषधीहरु प्नि उपलव्ध छन् । व्यक्तिको आवश्यकता अनुसार चिकित्सकको सल्लाहमा निश्चित अवधिका लागि यिनको प्रयोग गर्दा यो अम्मल छाड्न सरल र सफल हुने देखिन्छ ।

यसका लागि शुरुको विशेषज्ञ उपचार सेवा नेपालमा प्रमुख अस्पतालहरुमा र पुर्वमा वी.पि.को.स्वा.वि.प्र., धरानको डिटक्सिफिकेशन सेन्टरमा उपलव्ध छ । पुनस्र्थापना केन्द्रहरु देशका ठाउँठाउँमा खुलेका छन् जसमध्ये सम्बन्धित निकायबाट स्विकृत, आवश्यक अनुगमन भएको र भरपर्दो केन्द्रबाट सेवासुविधा लिँदा उत्तम हुनेछ ।

महत्वपूर्ण सन्देसः

लागुऔषध र नशासेवन कहाँनेर र केकति कारणले लत वा दुव्र्यसनमा परिणत हन्छ त्यो भन्न गाहारो छ । नशासेवन गरेर नानाखालका समस्या निम्ट््याउनुभन्दा सेवनै नगर्नु राम्रो । यसबारे सत्यतथ्य आफूले जानेर बुझेर र अरुलाई बुझाएर यसको प्रयोगलाई निरुत्साहित गर्नु उत्तम ।

सेवन गर्ने गरेको भए मनन् गरौंः कतै यस्ता पदार्थको सेवन आफ्नो नियन्त्रणबाट बाहिर गयो कि? यसको मात्रामा कतौटी गर्नपर्ने महसुस हुँदाहुँदै बारम्बार चिप्लि पो रहेछ कि? आफ्नो यस्तो बानीका कारण अरुबाट आलोचित त भएको छैन? मनमनै ग्लानि त हुँदैछैन? आँखा खुल्नासाथ नशाको तल्तलमा त फँसिँदै छैन? आफू, आफन्त वा साथीभाई आफ्नो पहुँचका जोसुकैमा यस्ता खालका सुचक लक्षणहरु भएमा ढिला नगरौं ।

नशा वा लागुऔषधको दुव्र्यसन आफैंमा एक गम्भीर बिमारी हो जसमा उपचारको आवश्यकता पर्छ । उपयुक्त उपचार र निर्देशनले यस्तो चक्रव्यूहबाट उम्किन सजिलो बनाउँछ । त्यसैले, आजै र अहिल्यै यो बिकराल समस्याको रोकथाम, उपचार र पिडितको पुनस्र्थापनाका लागि सचेत र जागरुक होऔं ।

लेखक – धरान स्थित  बिपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा वरिष्ठ स्नायु, दुव्र्यसन र मनोरोग विशेषज्ञ तथा एडिशनल प्रोफेसरका रुपमा कार्यरत छन ।  

Advertise Expired !

सम्बन्धित समाचारहरु

‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै
‘बेटी बचाउ बेटी पढाउ’ कार्यक्रमप्रति छोरीको आकर्षण बढ्दै

वीरगञ्ज। पश्चिमी पर्साको सखुवाप्रसौनी गाउँपालिका–५ महुवनकी ९ वर्षीया बबुनीकुमारी रामको दिनचर्या बाख्रा चराउन र मेलापात गर्नमै बित्ने गरेको छ । शिक्षाको पहँुचबाट टाढा रहेकी बबुनीलाई कखरासम्मको ज्ञान थिएन । साथीसँग[...]

वैदेशिक रोजगारीले परिवारमा बिचल्ली
वैदेशिक रोजगारीले परिवारमा बिचल्ली

पाल्पा । धन कमाउने मिठो सपना बोकेर दिनहुँ वैदेशिक रोजगारीका निम्ति सयौँ युवा अरब र खाडी मुलुकहरुमा पुग्ने गर्छन् । परदेशमा केहीले राम्रै कमाइ गरेका भए पनि धेरैको स्थिति पीडादायी[...]

मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल
मदिरा व्यवस्थापनमा व्यवसायीको चिन्ता : फणिराज नेपाल

पुरुषलाई मदिरा  नखाउ भनेर सिकाउन कुनै संस्था आउदैनन् ? जति संस्था आए पनि हामी महिलालाई मात्र सिकाउने ? पुरुषले जे गर्दा पनि हुने ? आफूहरू जतिसुकै परिवर्तन भए पनि पुरुषहरु[...]