विराटनगर । सनम शाक्य हत्या अनुसन्धानको क्रममा खुलेको करिब ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्तलाई काठमाडौं लगिएको छ । सोमवार प्लेन बिहान मार्फत उनीहरुलाई काठमाडौं लगिएको हो ।
तस्करी र हत्या आरोपमा पुर्पक्षकालागि कारगारमा रहेका चुडामणि उप्रेती गोरे, भुजुङ गुरुङ र छिरिङ वाङगेल घलेलाई सम्पती सुद्धिकरण विभागले काठमाडौं झिकाएको हो । सम्पती सुद्धिकरण विभागले अनुसन्धानकालागि काठमाडौं लैजान जिल्ला अदालत मोरङसँग अनुमती मागरेको थियो । अदालतले आइतवार काठमाडौं लैजाने अनुमति दिएको छ । तर समय अभावका कारण उनीहरुलाई सोमवार बिहान काठमाडौं लगिएको हो ।
जिल्ला कारागार मोरङका जेलर शंकरप्रसाद पौडयालका अनुसार उनीहरुलाई बिहान ८ बजेको फ्लाइटमा काठमाडौं लगिएको हो । गोरे सुन तस्करी प्रकरणका मुख्य अभियुक्त हुन भने राप्रपा नेता समेत रहेका भुजुङ र उनको साला पर्ने छिरिङ लगानीकर्ता मध्येका हुन् । काठमाडौं लगिने मुख्य अभियुक्त मध्ये गोरे र घले विराटनगर कारागारमा छन् भने भूजुङ गुरुङ क्षेत्रिय कारागार झुम्कामा थिए ।