मेरोदेश संबाददाता, विराटनगर,
नेपाल मुस्लिम संघको आन्दोलनमा ऐक्यबद्धता जनाउदै मोरङ मुस्लिम समाजले समेत पहिलो चरणको आन्दोलनको घोषणा गरेको छ । नेपाल पत्रकार महासंघ मोरङको सभाहलमा बुधबार बिहान पत्रकार सम्मेलनको आयोजनागर्दै समाजले नेपाल मुस्लिम संघको जेष्ठ ७ गतेबाट जारी आन्दोलनलाई समर्थनगर्दै पहिलो चरणको आन्दोलनको घोषणा गरेको हो ।
मुस्लिम समुदायका चाडपर्वमा यसअघि दिईने गरेको सार्वजनिक बिदा कटौती गरिएको,मुस्लिम समुदायकालागि क्लस्टर छु्ट्टयाएर बिज्ञापन नगरिएको,मदर्सा दर्ता रोक्का गरिएको र संबैधानिक मुस्लिम आयोगलाई कृयाशिल नगरिएको लागयतका माग राखी नेपाल मुस्लिम संघले आन्दोलन गर्दै आएको छ । संघको सोहि आन्दोलनलाई समर्थन गर्दै मोरङ मुस्लिम समाजले ७ बुंदे माग सहित आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । पत्रकार सम्मेलनमा सो बिषयमा जानकारी दिनुहुंदै आयोजक संस्थाका अध्यक्ष मण्डलका सदस्य शाहाब अहमद गुड्डुले धार्मिक अल्पसंख्यककोरुपमा रहेको मुस्लिम समुदायका महत्वपुर्ण पर्वहरुमा विदा कटौती गरेर वर्तमान सरकारले गणतन्त्र र धर्मनिरपेक्षताको धज्जी उडाएको बताउनुभयो । उहांले यतिखेर रमजान चलिरहंदा पर्व मनाउदै घरमा बस्नुपर्ने मुस्लिम समुदाय आफ्नो अस्तित्व रक्षागर्न आन्दोलनमा होमिनुपरेको बताउनुभयो ।
राष्ट्रिय मुस्लिम गठबन्धनका जिल्ला संयोजक सलिम अंसारी,मुस्लिम मुक्ति मोर्चाका केन्द्रीय सदस्य मन्सुर आलम,राप्रपाका नेता मोहम्मद मुस्लिम मियां,आयोजक संस्थाका अध्यक्ष मण्डलका सदस्यत्रय ताजिम अहमद,सालिम खान र फिरोज खान लगायतका वक्ताले बिदा कटौती गर्नुका साथै अन्य हक अधिकार समेत वर्तमान सरकारले दिन नमानेका कारण समुदायले धर्मनिरपेक्षता र गणतन्त्रको अनुभुति गर्न नपाएको बताएका थिए । पहिलो चरणको आन्दोलनमा प्लेकार्ड सहित प्रर्दशन,बिरोध सभा, चक्काजाम र प्रधानमन्त्री तथा मुख्यमन्त्रीलाई ज्ञापन बुझाउने कार्यक्रम घोषणा गरिएको छ ।